Logo

२८ बैशाख, काठमाडौँ । गृहमन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री बालेन शाह संसदीय समितिको बैठकमा लगातार दोस्रोपटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ ।

सुकुम्वासी बस्ती खाली गराइएको सन्दर्भ र मुलुकको सुरक्षा प्रशासनका विषयमा प्रधानमन्त्रीसँगै सिधा जवाफ माग्नुपर्ने अडान राख्दै कांग्रेसले सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक छाडेको हो ।

सोमबार बिहान ११ बजेका लागि तय गरिएको बैठकमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निस्कल राई तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव सहभागी भएनन् । कांग्रेस नेता आङ्देम्बेले प्रधानमन्त्री नै उपस्थित नभएपछि चिया खाएर गफ गर्न मात्र समितिको बैठकमा जानुको कुनै औचित्य नरहेको भन्दै कडा प्रतिक्रिया दिनुभएको छ । उहाँले प्रधानमन्त्रीले नै गृहमन्त्रीको भूमिका निर्वाह गरिरहेकाले उहाँ आफैँ उपस्थित भएर जवाफ नदिएसम्म बैठकमा नफर्कने स्पष्ट पार्नुभयो ।

समिति सभापति हरि ढकाललाई पटक(पटक आग्रह गर्दा पनि प्रधानमन्त्रीलाई उपस्थित गराउन नसकेको भन्दै विपक्षी दलले असन्तुष्टि पोखेको छ । सुकुम्वासी समस्या र समसामयिक सुरक्षा चुनौतीका विषयमा कार्यकारी प्रमुखको जवाफ अनिवार्य रहेको कांग्रेसको तर्क छ ।

प्रधानमन्त्रीको कार्यव्यस्तता वा अनुपस्थितिका कारण राज्य व्यवस्था समितिको कामकारबाही प्रभावित भएको यो दोस्रो पटक हो, जसले संसदीय समिति र सरकारबीचको समन्वयमा समेत प्रश्न उठाएको छ ।


सम्बन्धित समाचार