२८ बैशाख, काठमाडौँ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा आएको गम्भीर प्राविधिक समस्याका कारण विगत एक सातादेखि देशभरका सेवाग्राहीले ठुलो सास्ती भोग्नुपरेको छ ।
गत वैशाख २१ गतेदेखि प्रणालीमा देखिएको अवरोध अहिलेसम्म समाधान हुन नसक्दा राष्ट्रिय परिचयपत्रसँग जोडिएका अत्यावश्यक सेवाहरू ठप्प भएका हुन् ।
प्रणालीमा आएको गडबडीले गर्दा परिचयपत्रको विवरण सच्याउने, नयाँ दर्ताका क्रममा प्राप्त हुने राष्ट्रिय परिचयपत्र नम्बर ९ल्क्ष्ल्० लिने तथा जन्म दर्ता जस्ता कार्यहरू पूर्ण रूपमा प्रभावित भएका छन् । यसको प्रत्यक्ष असर सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरणमा समेत परेको छ, जहाँ बायोमेट्रिक रुजु हुन नसक्दा ज्येष्ठ नागरिक तथा लक्षित वर्गले झन्झट व्यहोर्नुपरेको छ ।
नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कुलशेखर अर्यालले सिस्टममा देखिएको प्राविधिक समस्या समाधानका लागि प्राविधिक टोली निरन्तर खटिरहेको जानकारी दिनुभएको छ ।
समस्या पहिचान गरी प्रणालीलाई यथाशीघ्र सुचारु गर्ने प्रयास भइरहेको दाबी गरिए तापनि साताभर सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयहरूमा सेवाग्राहीको चाप र आक्रोश बढ्दो छ । प्राविधिक मर्मतमा ढिलाइ हुँदा परिचयपत्रलाई अनिवार्य गरिएका अन्य कतिपय प्रशासनिक कामहरू पनि प्रभावित हुन पुगेका छन् ।


















