२८ बैशाख, काठमाडौँ । प्रतिनिधि सभाको बैठक सञ्चालनलाई व्यवस्थित बनाउन सभामुख र उपसभामुख दुवैको अनुपस्थितिमा सदनको अध्यक्षता गर्ने ७ सदस्यीय कार्यव्यवस्था परामर्श समितिका सदस्यहरू मनोनीत गरिएको छ ।
सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले सभा सञ्चालनका लागि ७ जना सदस्यहरूलाई मनोनीत गरेको जानकारी गराउनुभएको हो । मनोनीत हुने सदस्यहरूमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी रहनुभएको छ ।
प्रतिनिधि सभा नियमावली बमोजिम सभामुख र उपसभामुखको कार्यव्यस्तता वा अनुपस्थितिमा सदनको कामकारबाहीलाई निरन्तरता दिन यो अध्यक्ष मण्डलले भूमिका खेल्नेछ ।
सभामुखले सदनमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दल र समावेशीतालाई ध्यानमा राखेर यी नामहरू चयन गर्नुभएको हो । मनोनीत सदस्यहरूले सभामुख र उपसभामुख दुवै उपलब्ध नभएको अवस्थामा आलोपालो गरी सदनको अध्यक्षता गर्ने र सभालाई विधिसम्मत ढङ्गले अगाडि बढाउने जिम्मेवारी पाउनेछन् ।


















