२८ वैशाख,वीरगञ्ज । कण्डम प्रयोगकर्ता बढे पनि रौतहटमा एचआईभी/एड्स संक्रमणको संख्या भने घट्न नसकेको देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ५४० जनामा एचआईभी संक्रमण पुष्टि भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहका अनुसार संक्रमितमध्ये ४२५ जना नियमित रूपमा एन्टिरेट्रोभाइरल (एआरटी) औषधि सेवन गरिरहेका छन् भने बाँकी ११५ जना उपचार सम्पर्कमा नरहेको वा जिल्ला बाहिर बसोबास गरिरहेको अवस्था छ।
सबैभन्दा बढी संक्रमण राजपुर नगरपालिकामा ६७ जनामा देखिएको छ। पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्केकाभन्दा जिल्लामै कार्यरत सवारी चालक, प्रहरी तथा मजदुरमा संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
प्रमुख सिंहका अनुसार कण्डम प्रयोग गर्नेहरूको संख्या बढे पनि सही प्रयोगबारे पर्याप्त जनचेतना नहुँदा संक्रमण नियन्त्रणमा चुनौती देखिएको छ। उनले सुरक्षित यौन व्यवहार, नियमित परीक्षण र सही कण्डम प्रयोगलाई संक्रमण रोकथामको मुख्य उपायका रूपमा जोड दिएका छन्।
प्रादेशिक गौर अस्पतालका चिकित्सक डा. शशी गुप्ताका अनुसार एचआईभी असुरक्षित यौन सम्पर्क, संक्रमित रगत, संक्रमित सुई–सिरिन्जको प्रयोग तथा संक्रमित आमाबाट शिशुमा सर्न सक्छ। उनका अनुसार नियमित औषधि सेवन र उपचारमार्फत संक्रमित व्यक्तिले सामान्य जीवनयापन गर्न सक्छन्।
स्वास्थ्यकर्मीहरूले संक्रमण लुकाउनुको सट्टा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गरी उपचार लिन आग्रह गरेका छन्।


















