२८ बैशाख, काठमाडौँ । सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान र विस्तारका लागि सन् २०२८ (वि.संं) २०८५० लाई ‘भिजिट नेपाल’ वर्षका रूपमा मनाउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षलाई सो बृहत् पर्यटन अभियानको पूर्वतयारी वर्षका रूपमा उपयोग गरिने जानकारी दिनुभयो । पर्या–पर्यटनलाई आधुनिक प्रविधिसँग जोड्दै नेपाललाई विश्वकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने सरकारको लक्ष्य छ ।
डिजिटल भिसा र विमानस्थलमा ई–गेट प्रणाली
पर्यटकको आगमनलाई सहज बनाउन सरकारले भिसा प्रक्रियामा आमूल परिवर्तन गर्ने भएको छ । अब पर्यटक भिसा पूर्ण रूपमा अनलाइनमार्फत प्राप्त गर्न सकिने व्यवस्था मिलाइनेछ ।
यसका साथै, अन्तर्राष्ट्रिय विमानस्थलहरूको सेवालाई आधुनिक र छिटो बनाउन ‘ई–गेट’ प्रणाली जडान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसले विमानस्थलमा हुने प्राविधिक ढिलासुस्ती हटाउन र पर्यटकलाई अत्याधुनिक सेवाको अनुभूति दिलाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
हवाई क्षेत्रको सुधार र कूटनीतिक पहल
नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार गर्दै सरकारले यस क्षेत्रमा निजी क्षेत्रको सहभागितालाई थप सुदृढ बनाउने नीति लिएको छ । अन्तर्राष्ट्रिय उडान सुरक्षा मापदण्डहरूको कडाइका साथ कार्यान्वयन गर्ने र नेपालका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू (पोखरा र गौतम बुद्ध) मा उडान विस्तारका लागि विशेष कूटनीतिक पहल गरिने राष्ट्रपति पौडेलले बताउनुभयो ।
हवाई सम्पर्क सञ्जाल विस्तार गरी धेरै भन्दा धेरै विदेशी पर्यटक भित्र्याउन सरकारले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूसँगको सहकार्यलाई प्राथमिकता दिने भएको छ ।


















