२८ वैशाख, काठमाडौँ । गृहमन्त्री पदबाट राजीनामा दिएपछि केही समय सार्वजनिक वृत्तबाट ओझेल पर्नुभएका रास्वपा सांसद सुधन गुरुङले आफूमाथि लागेका गम्भीर आरोपहरूको सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभएको छ। सोमबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले आफूमाथि लागेका आरोपहरू पुष्टि हुन नसक्ने दाबी गर्दै सरकारलाई छानबिनका लागि चुनौती दिनुभएको हो।
पूर्वगृहमन्त्री गुरुङ विवादास्पद व्यवसायी दीपक भट्टसँगको सेयर कनेक्सन को विषयलाई लिएर विवादमा मुछिनुभएको थियो। यही विवादका कारण उहाँले नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। तर, राजीनामा दिएको लामो समय भइसक्दा पनि सरकारले यसबारे औपचारिक छानबिन प्रक्रिया अगाडि नबढाएकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ।
सञ्चारकर्मीहरूसँगको कुराकानीमा गुरुङले भन्नुभयो, म छानबिनको पर्खाइमा छु, सरकारले किन ढिलाइ गरिरहेको छ ? ममाथि लागेका आरोप पुष्टि भए म कारबाही भोग्न तयार छु। तर, यदि म निर्दोष सावित भएँ भने मलाई विनाआधार आरोप लगाउनेहरूमाथि पनि कानुनी कारबाही हुनुपर्छ।
सांसद गुरुङले छानबिनका लागि आग्रह गरिरहँदा अन्य राजनीतिक दलहरूले भने सरकारको नियतमाथि प्रश्न उठाएका छन्। सरकारले छानबिन गर्दा गुरुङ दोषी देखिने पक्का भएको र त्यसले सत्ता समीकरणमै असर पुग्ने डरले छानबिन प्रक्रियालाई जानीजानी अगाडि नबढाइएको आरोप विपक्षीहरूको छ।
गृहमन्त्री जस्तो जिम्मेवार पदमा रहँदा विवादमा परेर राजीनामा दिएका व्यक्तिको विषयमा राज्यका निकायहरू मौन बस्नुले सुशासनको नारामाथि नै प्रश्न उठाएको भन्दै अहिले सदन र सडकमा यसबारे चर्चा सुरु भएको छ।


















