२८ वैशाख, वीरगञ्ज । सवारी दुर्घटना गराई विगत २१ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। २०६२ सालमा भएको सवारी ज्यान मुद्दाका अभियुक्त पर्सागढी नगरपालिका–५, पञ्चरुखी बस्ने ४७ वर्षीय दिनेश प्रसाद यादवलाई प्रहरीले सोमबार उनकै घरबाट नियन्त्रणमा लिएको हो।
२०६२ साल मंसिर १५ गते दिउँसो ३ बजेको समयमा वीरगञ्ज चिनीमिल आवास क्षेत्र अगाडि यादवले चलाएको ना ३ प ६३६२ नम्बरको मोटरसाइकलले पैदल यात्री बाराको जितपुर सिमरा उपमहानगरपालिका–२० का ६५ वर्षीय कालिका सिंह राजपुतलाई ठक्कर दिएको थियो।
ठक्करपछि गम्भीर घाइते भएका राजपुतलाई स्थानीय र प्रहरीको सहयोगमा उपचारका लागि ललितपुरस्थित बी एण्ड बी अस्पताल पठाइएको थियो। उपचारकै क्रममा २०६२ मंसिर २६ गते चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। चालक यादव भने दुर्घटना लगत्तै मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका थिए।
दुर्घटना पश्चात लामो समयदेखि लुकिछिपी बस्दै आएका यादव आफ्नै घरमा रहेको विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बिहान ८ बजे नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका यादवमाथि सवारी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
लामो समयदेखि न्यायको पर्खाइमा रहेको पीडित परिवारका लागि यो पक्राउले कानुनी उपचारको ढोका खोलेको छ।


















