२८ बैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै विद्यार्थी नन् ग्रेडेड (अवर्गीकृत) भएका छन्। मधेश प्रदेशबाट परीक्षामा सहभागी ७६ हजार ३१७ विद्यार्थीमध्ये ३१ हजार ७२५ जनाले कुनै पनि ग्रेड प्राप्त गर्न सकेनन्। नियमिततर्फ देशभरबाट सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये कुल १ लाख ४६ हजार ५०७ जना अवर्गीकृत भएको बोर्डको तथ्याङ्कले देखाएको छ।
प्रदेशगत नतिजा हेर्दा लुम्बिनीमा २७ हजार ८९३, बागमतीमा २१ हजार ७०४, कोशीमा २१ हजार ३६६ र सुदूरपश्चिममा २० हजार ६३५ विद्यार्थी नन् ग्रेडेड भएका छन्। त्यस्तै, कर्णालीमा १३ हजार २४१ र गण्डकी प्रदेशमा ९ हजार ९४३ विद्यार्थी अवर्गीकृत भएका छन्। उत्तीर्ण अर्थात् वर्गीकृत विद्यार्थीहरूको सङ्ख्या भने बागमती प्रदेशमा सबैभन्दा उच्च देखिएको छ, जहाँ ७७ हजार ११३ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२ र लुम्बिनीमा ४४ हजार २५६ विद्यार्थी वर्गीकृत भएका छन्। त्यसैगरी गण्डकीमा २६ हजार ५५०, सुदूरपश्चिममा २१ हजार ६६४ र कर्णालीमा १९ हजार ९५ विद्यार्थीले ग्रेड हासिल गरेका छन्।
नतिजा अनुसार नन् ग्रेडेड भएका विद्यार्थीहरूका लागि बोर्डले मौका परीक्षाको समय समेत तय गरिसकेको छ। अवर्गीकृत विद्यार्थीहरूको पुरक परीक्षा आगामी असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। यसपटकको नतिजाले भौगोलिक र प्रादेशिक आधारमा शैक्षिक उपलब्धिमा देखिएको ठूलो अन्तरलाई पुनः सतहमा ल्याइदिएको छ।

















