Logo

२९ बैशाख, कलैया (बारा)। जिल्ला प्रहरी कार्यालय बाराले अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहँदै आएका १६ जना प्रतिवादीहरूलाई एकैसाथ पक्राउ गरेको छ । बारा जिल्ला अदालतबाट विभिन्न मुद्दामा दण्ड र सजाय तोकिए पनि कानुनको आँखा छलेर लुकिछिपी बसिरहेका उनीहरूलाई प्रहरीको विशेष टोलीले जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सामान्य कुटपिटदेखि गम्भीर प्रकृतिका फौजदारी मुद्दाका दोषीहरू रहेका छन् । प्रहरीका अनुसार चेक अनादर, भैँसी चोरी, सवारी ज्यान, खोटा चलन, कुटपिट र सरकारी छाप दस्तखत किर्ते जस्ता मुद्दामा अदालतले दोषी ठहर गरेका व्यक्तिहरू पक्राउ परेका हुन् ।

जिल्लामा सुरक्षा व्यवस्था चुस्त बनाउन र ‘अपराध गरेपछि उम्किन सकिँदैन’ भन्ने सन्देश दिन प्रहरीले फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर यो अभियान चलाएको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेका सबै १६ जनालाई कैद भुक्तान र जरिवाना असुलीका लागि आवश्यक प्रक्रिया पूरा गरी बारा जिल्ला अदालतमा बुझाइएको छ ।


सम्बन्धित समाचार