२९ बैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद्को समावेशी स्वरूपलाई दशकौँ लामो सशस्त्र सङ्घर्ष र बलिदानको प्रतिफल भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै प्रचण्डले संसद्को यो ‘इन्द्रेणी प्रतिनिधित्व’ आफ्नो पार्टीको चुनावी नतिजाभन्दा कैयौँ गुणा महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । ‘यो भवन सिमेन्ट र इँटाले मात्र बनेको छैन, यसको अन्तर्यमा हजारौँ शहीदको बलिदान र रगत लुकेको छ,’ भन्दै उहाँले उत्पीडित वर्ग, लिङ्ग र समुदायको यो उपस्थितिलाई सामन्तवादविरुद्ध उठाइएको बन्दुकले खोलेको ढोकाका रूपमा व्याख्या गर्नुभयो । उहाँले थप्नुभयो, ‘यदि हिजो हामीले मशाल नबालेको भए आज यी समुदायका प्रतिनिधिहरू यहाँ मन्त्री बन्ने अवस्था आउने थिएन।’
नयाँ राजनीतिक शक्तिहरूको उदयलाई सहजै स्वीकार गर्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा प्राप्त गरेको करिब दुई-तिहाइको सफलताप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेलाई विशेष बधाई दिँदै बालेन प्रधानमन्त्री बन्नुलाई ुक्रान्तिको संकल्पको जितु का रूपमा चित्रण गर्नुभयो ।
सशस्त्र युद्धदेखि पछिल्लो जेनजी आन्दोलनसम्मका शहीद र घाइतेहरूप्रति कृतज्ञता प्रकट गर्दै उहाँले रुकुम पूर्वका जनतालाई आफूलाई निर्वाचित गराएकोमा धन्यवाद समेत दिनुभयो ।
सम्बोधनको अन्त्यमा उहाँले गम्भीर चेतावनी दिँदै भन्नुभयो कि जुन दिन यो देशले शहीदहरूको महान् बलिदानलाई बिर्सनेछ, त्यसै दिन लोकतन्त्रको यो जग र संसदको गरिमा आफैँ ढल्नेछ ।


















