Logo

२९ वैशाख,वीरगञ्ज ।  पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथअन्तर्गत पथलैया–अमलेखगञ्ज सडक विस्तारका क्रममा वन्यजन्तु सुरक्षाका लागि कम्तीमा दुई वटा ‘ओभरपास’ निर्माण गर्न सडक विभागसँग प्रस्ताव गरेको छ।

निकुञ्जले करिब ८ किलोमिटर कोर एरिया पर्ने उक्त सडकखण्डमा सवारीसाधनको अत्यधिक चापका कारण वन्यजन्तु दुर्घटनाको जोखिम बढेको भन्दै जनावरमैत्री संरचना निर्माण गर्न सुझाव दिएको हो।

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतका अनुसार हालसम्म सवारीसाधनको ठक्करबाट दुई दर्जनभन्दा बढी वन्यजन्तुको मृत्यु भइसकेको छ। उनले ओभरपास निर्माण भएमा दुर्घटनाबाट हुने क्षति केही हदसम्म न्यूनीकरण गर्न सकिने बताए।

उनका अनुसार यस क्षेत्रबाट हात्तीले सवारीसाधनलाई लखेट्ने, तथा मानव–वन्यजन्तु द्वन्द्व पनि बढ्दै गएको छ। चालु आर्थिक वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर एक चितुवाको मृत्यु भएको निकुञ्जले जनाएको छ।

त्यसैगरी, पथलैया–अमलेखगञ्ज सडकखण्डमा दुई जरायो, पाँच चित्तल र १५ बाँदर सवारी दुर्घटनामा परी मरेका छन् भने प्राकृतिक कारणले थप तीन वन्यजन्तुको मृत्यु भएको निकुञ्जले जनाएको छ।

सूचना अधिकारी भगतले वन्यजन्तु संरक्षणका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै चालकहरूलाई थप सचेत बनाउन सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताए।

सडक डिभिजन हेटौँडाका इन्जिनियर भोलाप्रसाद साहका अनुसार निकुञ्जको सुझावसहितको प्रस्ताव सडक विभागमा पठाइएको छ। सडक विस्तारको क्रममा ओभरपास निर्माणका विषयमा आवश्यक अध्ययन भइरहेको उनले जानकारी दिए।


सम्बन्धित समाचार