२९ वैशाख,वीरगञ्ज । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अझै सुचारु हुन नसकेको जनाएको छ।
विभागले जारी गरेको सूचनाअनुसार गत वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) मा देखिएको प्राविधिक समस्या हालसम्म समाधान हुन सकेको छैन।
विभागका अनुसार प्रणालीमा आएको गडबडीका कारण नयाँ इनरोलमेन्ट गर्दा प्राप्त हुने राष्ट्रिय परिचय नम्बर (NIN) लाई प्रणालीले प्रमाणीकरण गर्न नसकेको हो। यसले गर्दा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रभावित बनेको विभागले जनाएको छ।
यसअघि वैशाख २३ गते नै सेवा अवरुद्ध भएको जानकारी गराइएको भए पनि मर्मत तथा प्राविधिक सुधारको काम जारी रहेकाले सेवा कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन।
प्राविधिक समस्याका कारण देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेका परिचयपत्र इकाइबाट प्रदान गरिने सेवाहरू प्रभावित भएका छन्।
विभागले सेवा पुनः सुचारु हुनासाथ अर्को सूचनामार्फत जानकारी गराइने जनाएको छ।
राहदानी बनाउन तथा अन्य सरकारी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका कारण सेवा लामो समयसम्म अवरुद्ध हुँदा देशभरका सेवाग्राहीहरू समस्यामा परेका छन्।



















