Logo

२९ वैशाख,काठमाडौं । नेपाल सरकारले भारतीय विदेशमन्त्री डा. एस जयशंकरलाई नेपाल भ्रमणको निम्तो दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

मंगलबार आयोजित साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मौरिससमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटवार्ताका क्रममा जयशंकरलाई नेपाल भ्रमणको निम्तो दिइएको जानकारी दिएका हुन्।

‘हाम्रा विदेशमन्त्रीको नेपालका विदेशमन्त्रीसँग कुराकानी भएको थियो। उहाँहरूबीच मौरिससमा भेटवार्ता भएको थियो र नेपालका तर्फबाट भ्रमणको निम्तो आएको थियो,’ प्रवक्ता जैसवालले भने।

यद्यपि भ्रमणको मिति भने हालसम्म तय नभएको उनले स्पष्ट पारे। उनका अनुसार नेपाल र भारतबीचको आपसी समझदारीमा भ्रमणको समय निर्धारण गरिनेछ।

‘उहाँ (विदेशमन्त्री) नेपाल जाने मिति दुई देशबीचको समझदारीमा तय हुनेछ,’ उनले भने।

मिडिया ब्रिफिङका क्रममा एक सञ्चारकर्मीले भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित हुनुको कारणबारे प्रश्न गरेकी थिइन्। त्यसको जवाफमा प्रवक्ता जैसवालले नेपाल–भारत सम्बन्ध बहुआयामिक र ऐतिहासिक रहेको बताएका थिए।

उनले नेपालमा निर्वाचनपछि नयाँ सरकार गठन भएको उल्लेख गर्दै भारतीय प्रधानमन्त्रीले नेपाली प्रधानमन्त्रीसँग संवाद गरिसकेको जानकारी दिए। साथै, दुई देशबीचको सम्बन्ध पारिवारिक र ऐतिहासिक भएकाले त्यसलाई अझ सुदृढ बनाउने दिशामा दुवै देश प्रतिबद्ध रहेको उनले बताए।


सम्बन्धित समाचार