३० बैशाख, काठमाडौँ । मलेसियाको पश्चिमी तटमा पर्ने पांकोर टापु नजिकै ३७ जना कागजातविहीन आप्रवासी बोकेको एउटा डुङ्गा दुर्घटना भएको छ । सोमबार भएको उक्त दुर्घटनामा परी १४ जना बेपत्ता भएका छन् भने २३ जनालाई सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
पेराकस्थित मलेसियन मेरिटाइम इन्फोर्समेन्ट एजेन्सी (एमएमईए) का अनुसार समुन्द्रमा मानिसहरू तैरिरहेको एक स्थानीय माझीले देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए। खबर पाउनासाथ खटिएको उद्धार टोलीले समुद्रमा डुब्दै गरेका २३ जनालाई नियन्त्रणमा लिएर प्राथमिक उपचारका लागि पठाएको छ।
पेराक एमएमईएका निर्देशक मोहम्मद शुक्री खोटोबले जारी गरेको विज्ञप्ति अनुसार उक्त डुङ्गा मे ९ मा इन्डोनेसियाको किसरनबाट प्रस्थान गरेको थियो। प्रारम्भिक अनुसन्धानले ती आप्रवासीहरू मलेसियाको पेनाङ, तेरेंगांनु, सेलान्नोर र क्वालालम्पुर लगायतका विभिन्न गन्तव्यहरूमा कामका लागि लुकिछिपी छिर्न खोजेको देखाएको छ।
बेपत्ता भएका १४ जनाको खोजीका लागि मलेसियाली सरकारले ठूलो संख्यामा उद्धार टोली परिचालन गरेको छ। खोजी कार्यमा विशेष डुङ्गाहरू, हेलिकोप्टर र विमान समेत तैनाथ गरिएको एमएमईएले जनाएको छ। उद्धार गरिएका व्यक्तिहरूलाई थप कानुनी अनुसन्धानका लागि स्थानीय प्रहरीको जिम्मा लगाइएको छ।
एसियाली आप्रवासीहरूका लागि मलेसिया एक मुख्य गन्तव्य मुलुक रहँदै आएको छ। विशेषगरी निर्माण र कृषि क्षेत्रमा सस्तो श्रमका लागि इन्डोनेसिया, म्यानमार र दक्षिण एसियाली मुलुकबाट कागजातविहीन आप्रवासीहरू जोखिमपूर्ण समुद्री मार्ग प्रयोग गरी मलेसिया प्रवेश गर्ने गरेका छन् ।
यसअघि नोभेम्बर २०२५ मा पनि थाइल्याण्ड–मलेसिया सीमा नजिकै यस्तै प्रकृतिको दुर्घटना हुँदा ३६ जनाको ज्यान गएको थियो। मानव तस्करहरूले सानो र असुरक्षित डुङ्गामा क्षमताभन्दा बढी मानिस राखेर ओसार्ने गरेका कारण समय–समयमा यस्ता भयावह दुर्घटना हुने गरेका छन् ।


















