३० बैशाख, कलैया (बारा) । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा बारा जिल्लाको औसत उपलब्धि कमजोर देखिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बाराले सार्वजनिक गरेको विस्तृत विवरण अनुसार जिल्लाबाट परीक्षामा सहभागी कुल ८ हजार ७ सय ५३ परीक्षार्थीमध्ये ४६.५४ प्रतिशत अर्थात् ३ हजार ८ सय ९९ जनाले मात्र ग्रेड प्राप्त गरेका छन् भने ५३.४५ प्रतिशत अर्थात् ४ हजार ६ सय ६४ विद्यार्थी ‘नन-ग्रेडेड’ (एनजी) भएका छन् ।
साधारण धारतर्फ सहभागी ८ हजार ३ सय ७७ विद्यार्थीमध्ये ४६.५४ प्रतिशत उत्तीर्ण हुँदा ५ जनाले मात्र ४.० जीपीए हासिल गरेका छन् भने ४ हजार ४ सय ७८ जनाको नतिजा एनजी आएको छ। प्राविधिक धारतर्फ भने ३ सय ७६ परीक्षार्थीमध्ये ५०.२६ प्रतिशत (१ सय ८९ जना) उत्तीर्ण भएका छन् ।
पालिकागत नतिजालाई केलाउँदा कलैया उपमहानगरपालिकाले ६०.४३ प्रतिशत र जितपुरसिमरा उपमहानगरपालिकाले ५६.२५ प्रतिशत नतिजासहित जिल्लाको साख जोगाउने प्रयास गरेका छन् । यद्यपि, निजगढ नगरपालिकामा ४०.०६ प्रतिशत, कोल्हवीमा ३३ प्रतिशत र पचरौता नगरपालिकामा ३०.७६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । सबैभन्दा कमजोर नतिजा विश्रामपुर गाउँपालिकामा देखिएको छ, जहाँ सहभागी १३८ विद्यार्थीमध्ये १८.८४ प्रतिशत अर्थात् २६ जनाले मात्र ग्रेड प्राप्त गर्न सकेका छन् ।
श्रेणीगत विभाजनअनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २९४, ३.२ देखि ३.६ ल्याउने १,००४ र २.८ देखि ३.२ ल्याउने १,४२८ जना रहेका छन्। नतिजा सार्वजनिक भएसँगै एनजी आएका ठूलो संख्याका विद्यार्थीहरूका लागि बोर्डले साउन १ गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ।


















