Logo

३० बैशाख, पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्व चयनका लागि पर्यटकीय नगरी पोखरामा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। देशभरका ३ सय ८७ संस्थाहरूबाट आएका १ हजार ६६३ प्रतिनिधिहरू नयाँ कार्यसमिति छान्न पोखरा इभेन्ट सेन्टरमा भेला भएका छन् ।

महासंघको ८६ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ८४ पदका लागि रामलक्ष्मणको विद्युतीय मेसिनमार्फत मतदान भइरहेको छ। नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्षद्वय पुण्यप्रसाद सिटौला (सरोज) र हरिशरण केसीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

निर्वाचनमा सिटौलालाई नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको एउटा तप्काले साथ दिने प्रयास गरे पनि दलीय सहमति पूर्ण रूपमा जुट्न नसक्दा चुनावी मैदान रोचक बनेको छ ।

अध्यक्षका आकांक्षी पुण्यप्रसाद सिटौलाले आफ्नो अनुभव र विगतको कार्यक्षमतालाई मुख्य आधार बनाउँदै ‘प्रविधिमैत्री यातायात’को एजेन्डा अघि सारेका छन् । उनले अनलाइन टिकेटिङ, जीपीएस सिस्टम जडान र क्यासलेस भुक्तानीलाई आफ्नो प्राथमिकतामा राखेका छन् । विशेषगरी दुर्घटना बिमाको झन्झटिलो प्रक्रिया र बिमा कम्पनीहरूको ‘ज्यादती’ विरुद्ध लड्ने उद्घोष गर्दै सिटौलाले राज्यसँग नयाँ बिमा नीति ल्याउन पहल गर्ने दाबी गरेका छन् ।

“मृतकका परिवार र घाइतेको उपचार खर्चमा देखिएको असन्तुलन मेटाउन र सडक पूर्वाधारलाई व्यवस्थित बनाउन मेरो उम्मेदवारी हो,” सिटौलाले भने । उनले मजदुरदेखि व्यवसायीसम्मको सामाजिक सुरक्षाको मुद्दालाई पनि जोडतोडका साथ उठाएका छन् ।

अर्का उम्मेदवार हरिशरण केसीले भने महासंघमा लामो समयदेखि कायम रहेको ‘कार्यकारी सिन्डिकेट’ तोड्न आफू मैदानमा उत्रिएको बताएका छन् । उनले नयाँ शक्ति (रास्वपा) निकटका व्यवसायीहरूको साथ खोज्दै ‘चुपचाप, हरिशरण केसीलाई छाप’ भन्ने नाराका साथ प्रचारलाई तीव्र बनाएका छन् ।

केसीले महासंघले सरकारसँग प्रभावकारी समन्वय गर्न नसक्दा व्यवसायीहरू पुराना ऐन-कानुनमै अल्झिनुपरेको आरोप लगाउँदै रुट परमिट नीति र दुर्घटना न्यूनीकरणमा नयाँ योजनासहित काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्षमा सिटौला र केसीबीच सीधा ठक्कर देखिए पनि अन्य पदाधिकारी पदमा समेत उल्लेख्य उम्मेदवारी परेको छ। ३ वरिष्ठ उपाध्यक्षका लागि ६ जना, महासचिवमा ३ जना र कोषाध्यक्षमा ३ जनाबीच प्रतिस्पर्धा भइरहेको छ ।

७ उपाध्यक्षका लागि १३ र ३ सचिवका लागि ६ जना चुनावी मैदानमा छन् । विद्युतीय मेसिनबाट मतदान भइरहेकाले नतिजा आजै रातिसम्म आउने निर्वाचन समितिले जनाएको छ ।


सम्बन्धित समाचार