३० बैशाख, काठमाडौं । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश पदका लागि सिफारिस गरिएका डा.मनोज कुमार शर्माविरुद्ध उजुरी पर्ने क्रम सुरु भएको छ ।
संसदीय सुनुवाइ समितिले उजुरीका लागि १० दिनको समयसीमा तोकेर आह्वान गरेसँगै मंगलबारसम्ममा समितिमा ३ वटा उजुरी दर्ता भएका छन् । समितिको गत शुक्रबार बसेको बैठकले शर्माको नाममा सार्वजनिक सूचना जारी गर्दै उजुरी माग गर्ने निर्णय गरेको थियो ।
समिति सचिवालयका अनुसार इच्छुक व्यक्ति वा पक्षले आगामी जेठ ४ गतेसम्म उजुरी दर्ता गराउन सक्ने व्यवस्था मिलाइएको छ । उजुरीकर्ताहरूको सहजताका लागि हुलाक, इमेल, संसदीय सचिवालयमा प्रत्यक्ष पत्रमार्फत वा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट उजुरी दिन सकिने प्रावधान राखिएको छ ।
यसका साथै सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर गोप्य खाममा समेत उजुरी बुझाउन सकिने सचिवालयले जनाएको छ। उजुरी दिँदा सम्बन्धित विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउन समेत आग्रह गरिएको छ ।
आगामी जेठ ५ गते बस्ने सुनुवाइ समितिको बैठकले सबै सदस्यहरूको रोहबरमा प्राप्त भएका उजुरीहरू खोल्ने कार्यसूची तय गरेको छ ।
त्यसपछि ती उजुरीहरू अध्ययनका लागि समितिका सबै सदस्यहरूलाई वितरण गरिनेछ । प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई संसदीय सुनुवाइ समितिले उजुरीमाथिको छानबिन र सुनुवाइपछि अनुमोदन गरेमा मात्र राष्ट्रपतिबाट नियुक्त गरिने संवैधानिक व्यवस्था रहेको छ ।


















