३० वैशाख,काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत सञ्चालित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको रकम हिनामिना प्रकरणमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, स्वास्थ्य शाखा प्रमुख तथा नेपाल बैंक लिमिटेडका कर्मचारीसमेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार अस्पतालको आर्थिक कारोबारमा अनियमितता भएको उजुरीपछि गरिएको अनुसन्धानमा सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्रीबाट संकलित रकम हिनामिना गरिएको खुलेको हो।
प्रहरीले जनाएको अनुसार आर्थिक वर्ष २०८१/८२ मा अस्पतालको आम्दानी बैंकमा जम्मा गरिएको देखिए पनि १२९ वटा भौचरमार्फत देखाइएको रकम वास्तविक रूपमा बैंक खातामा जम्मा भएको थिएन। लेखा परीक्षणका क्रममा करिब ३८ लाख ९१ हजार ७७० रुपैयाँ बैंक खातामा जम्मा नभएको फेला परेको थियो।
अनुसन्धानका क्रममा अस्पताल र बैंकसँग सम्बन्धित व्यक्तिहरूले नक्कली भौचर तयार गरी संगठित रूपमा रकम हिनामिना गरेको प्रहरीको निष्कर्ष छ। शिवराज नगरपालिका–५ का वडाध्यक्ष तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेल्बासेले ४ वैशाखमा जाहेरी दिएका थिए।
पक्राउ पर्नेहरूमा शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय चुडामणि भण्डारी, अस्पतालका मेसु ३० वर्षीय डा. अमित पाण्डेय, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर ३४ वर्षीय कमलप्रसाद भण्डारी, अस्पतालकी फार्मेसी सहायक ३७ वर्षीया रक्सना खातुन तथा बैंक कर्मचारी ३५ वर्षीय विक्रम केसी रहेका छन्।
उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।
प्रहरीले कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ।


















