Logo

३० वैशाख,सिम्रौनगढ  । बाराको सिम्रौनगढ–६ स्थित ईलाका प्रहरी कार्यालय परिसरमा अवस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन एक समारोहबीच सम्पन्न भएको छ।

नेपाल प्रहरी प्रमुख (आईजीपी) दान बहादुर कार्कीले भवनको उद्घाटन गर्दै सेवाग्राहीमैत्री सेवा प्रवाह, उच्च मनोबलका साथ प्रहरी सेवा र पारदर्शितामा जोड दिनुभयो। उहाँले आफ्नो सम्बोधनको सुरुवात भोजपुरी भाषामा गर्दै ऐतिहासिक सिम्रौनगढ क्षेत्रमा बनेको यो भवन केवल संरचना मात्र नभई सेवाको गुणस्तर पनि उचाइमा पुग्नुपर्ने बताउनुभयो।

आईजीपी कार्कीले सेवाग्राहीलाई प्रत्यक्ष रूपमा आफ्नै समस्या राख्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै अनावश्यक भीडभाड नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले पीडित महिलालाई आवश्यक परे सेवा केन्द्रमै सुरक्षित बसोबासको व्यवस्था गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिनुभयो।

सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण, राजस्व चुहावट रोकथाम तथा लागूऔषध ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राख्दै कडाइका साथ कारबाही अघि बढाइने पनि उहाँले स्पष्ट पार्नुभयो। साथै शोषित, पीडित तथा शिक्षाबाट वञ्चित वर्गको सहयोगमा निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

लामा कन्स्ट्रक्सन कम्पनीद्वारा निर्माण गरिएको उक्त भवन १४ सय वर्गफिट क्षेत्रफलमा निर्माण भएको हो। कुल लागत ३ करोड ५१ लाख रुपैयाँ रहेकोमा हालसम्म २ करोड ५१ लाख रुपैयाँ खर्च भएको जनाइएको छ।

कार्यक्रममा मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया, UNOPS का अपरेसन कोर्डिनेटर पूर्व वरिष्ठ प्रहरी उपरीक्षक इन्द्र न्यौपाने, बारा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र तथा इन्जिनियर शिशिर उपाध्यायले आफ्ना धारणा राखेका थिए।

त्यसैगरी कार्यक्रममा उत्तम पब्लिक बोर्डिङ स्कुल सिम्रौनगढका छात्राहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको सञ्चालन डीएसपी रञ्जन मिश्रले गर्नुभएको थियो। कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवार, पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंह, जनप्रतिनिधि तथा स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार