३० वैशाख,काठमाडौं । मध्यपूर्वमा युद्ध चर्किरहेका बेला साउदी अरेबिया ले इरान माथि गोप्य सैन्य आक्रमण गरेको दाबी गरिएको छ।
पश्चिमी तथा इरानी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले साउदी अरेबियाले आफ्नै भूमिमा भएका आक्रमणको प्रतिशोधस्वरूप इरानभित्र प्रत्यक्ष सैन्य कारबाही गरेको जनाएको हो। रिपोर्टअनुसार यो साउदी अरेबियाले आफ्नो प्रमुख क्षेत्रीय प्रतिद्वन्द्वी इरानविरुद्ध गरेको पहिलो प्रत्यक्ष सैन्य कदम मानिएको छ।
पश्चिमी अधिकारीहरूका अनुसार साउदी वायुसेनाले मार्चको अन्तिम सातातिर इरानका केही लक्ष्यमा आक्रमण गरेको थियो। ती आक्रमणलाई साउदी भूमिमाथि भएका ड्रोन तथा मिसाइल हमलाको बदलास्वरूप गरिएको प्रतिआक्रमणका रूपमा व्याख्या गरिएको छ। यद्यपि, कुन स्थानलाई निशाना बनाइएको थियो भन्ने खुलाइएको छैन।
साउदी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले घटनाबारे प्रत्यक्ष टिप्पणी नगरे पनि साउदी अरेबिया क्षेत्रीय तनाव कम गर्ने पक्षमा रहेको बताएका छन्। इरानको विदेश मन्त्रालयले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
रिपोर्टअनुसार फेब्रुअरी २८ मा अमेरिका र इजरायल ले इरानमाथि हवाई आक्रमण शुरू गरेपछि युद्धले व्यापक क्षेत्रीय रूप लिएको थियो। त्यसयता इरानले खाडी सहयोग परिषद्का सदस्य राष्ट्रहरूमाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरिएको छ।
ती आक्रमण अमेरिकी सैन्य अड्डा, विमानस्थल, तेल पूर्वाधार तथा सर्वसाधारणका संरचनामाथि केन्द्रित रहेको उल्लेख गरिएको छ। साथै इरानले होर्मुज जलडमरु बन्द गरेपछि विश्व व्यापार तथा ऊर्जा आपूर्तिमा समेत असर परेको जनाइएको छ।
यसैबीच संयुक्त अरब इमिरेट्स ले पनि इरानमाथि सैन्य कारबाही गरेको दाबी ‘वाल स्ट्रिट जर्नल’ले गरेको छ। रिपोर्टअनुसार खाडी राष्ट्रहरूले प्रत्यक्ष प्रतिकार शुरू गरेसँगै युद्धको वास्तविक स्वरूप बाहिर आउन थालेको हो।
साउदी अरेबिया र इरानबीच सन् २०२३ मा चीनको मध्यस्थतामा सम्बन्ध पुनःस्थापना भए पनि दुवै देश लामो समयदेखि मध्यपूर्वका प्रमुख सुन्नी र शिया शक्ति राष्ट्रका रूपमा प्रतिस्पर्धामा रहँदै आएका छन्।


















