Logo

३० वैशाख,काठमाडौं ।  विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि (वैशाख ३१ गते) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

सभामुख डीपी अर्याल ले बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी दिएका हुन्।

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह सँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहने सभामुखले बताएका छन्।

सभामुख अर्यालका अनुसार सम्माननीय राष्ट्रपतिबाट प्रस्तुत आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेश गर्न, छलफलमा भाग लिन तथा प्रधानमन्त्रीबाट जवाफ दिन प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम बैठकको समय निर्धारण गरिएको हो।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाहको अनिवार्य उपस्थितिको माग गर्दै विपक्षी दलहरूले बुधबार तीन पटकसम्म बैठक अवरुद्ध गरेका थिए।


सम्बन्धित समाचार