Logo

३१ वैशाख, काठमाडौं । सरकारले क्यासिनोहरूमा नेपाली नागरिकको प्रवेश र अवैध खेल सञ्चालनमा कडाइ गर्न देशभरका १२ जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष परिपत्र गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले बुधबार पत्राचार गर्दै क्यासिनोहरूको सूक्ष्म निगरानी एवं स्थलगत अनुगमन गर्न निर्देशन दिएको हो।

पछिल्लो समय केही क्यासिनोहरूले कानुनको धज्जी उडाउँदै नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाउने गरेको र इजाजतपत्रमा उल्लेख नभएका अवैध खेलहरू समेत सञ्चालन गरिरहेको गुनासो बढेपछि विभागले यो कठोर कदम चालेको हो। यस विषयमा संघीय संसद्को प्रतिनिधिसभा बैठकमा समेत सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।

विभागका निर्देशक हिमाल गौतमद्वारा हस्ताक्षरित निर्देशनात्मक पत्र क्यासिनो सञ्चालनमा रहेका वा सम्भावना भएका मुख्य १२ जिल्लाहरूमा पठाइएको छ। पत्र प्राप्त गर्ने जिल्लाहरूमा पर्सा, झापा, मोरङ, बारा, भक्तपुर, काठमाडौं, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुर रहेका छन्।

पर्यटन ऐन, २०३५ र क्यासिनो नियमावली, २०८२ ले नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गर्न र खेल खेल्न पूर्ण रूपमा निषेध गरेको छ। यसका साथै, क्यासिनो सञ्चालकहरूले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को समेत पूर्ण पालना गर्नुपर्ने कानुनी बाध्यता छ।

विभागले जिल्ला प्रशासन कार्यालयहरूलाई प्रचलित कानुनविपरीत नेपालीहरूको अवैध प्रवेश वा अन्य कुनै पनि शंकास्पद गतिविधि हुन नपाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ। अनुगमनका क्रममा कानुन उल्लंघन भएको पाइएमा सञ्चालकलाई तत्काल हिरासतमा लिई कानुनी कारबाही अगाडि बढाउन र सोको जानकारी विभागलाई गराउन समेत निर्देशन दिइएको छ।

विशेष गरी सीमावर्ती क्षेत्रका क्यासिनोहरूमा नेपालीहरूको सहज पहुँच हुने गरेको भन्दै स्थानीय प्रशासनलाई थप सक्रिय हुन भनिएको छ। अबदेखि क्यासिनोमा छिर्ने जोसुकैको परिचयपत्र अनिवार्य जाँच गर्न र विदेशी पर्यटकलाई मात्र प्रवेश दिने व्यवस्थालाई कडाइका साथ लागू गरिने भएको छ।


सम्बन्धित समाचार
भर्खरै