३१ बैशाख, काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको सामना गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तयार नभएपछि आजको संसद् बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।
प्रधानमन्त्रीको अनुपस्थितिका कारण सिर्जित अन्योलबीच संसद् सचिवालयले आजको कार्यसूचीमा अर्थमन्त्रीलाई जवाफ दिने जिम्मेवारी तोकेको हो । बुधबारको बैठकमा प्रधानमन्त्री आफैँ उपस्थित भएर जवाफ दिने तालिका सार्वजनिक गरिए पनि उनी सिंहदरबारस्थित कार्यालयमै रहेर संसद्मा अनुपस्थित भएपछि विपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए ।
विपक्षीको चर्को विरोध र ‘प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने’ अडानका कारण हिजोको बैठक निष्कर्षविहीन टुङ्गिएको थियो । सभामुख डोलप्रसाद अर्यालले सहमतिको प्रयास गरे पनि विपक्षीको अडानपछि बैठक आज बिहान ११ बजेसम्मका लागि सारिएको थियो ।
आज सार्वजनिक गरिएको प्रतिनिधिसभाको दैनिक कार्यसूचीको दोस्रो बुँदामा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले राष्ट्रपतिद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको स्पष्टीकरण दिने उल्लेख छ। प्रधानमन्त्री बालेन आज पनि संसद्मा उपस्थित हुने वा नहुने भन्ने विषयमा अझै अनिश्चितता कायमै छ ।
यसअघि नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने संसदीय परम्परा रहे पनि बालेनको अनुपस्थितिले राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ । सरकारले अर्थमन्त्रीमार्फत सदनलाई आश्वस्त पार्ने रणनीति लिए पनि विपक्षी दलहरूले यसलाई कसरी लिन्छन् भन्ने चासोको विषय बनेको छ ।


















