३१ बैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगमा रिक्त रहेका पदाधिकारीहरूको पदपूर्तिका लागि खुला प्रतिस्पर्धाको प्रक्रिया अगाडि बढाएको छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै योग्य उम्मेदवार छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेसँगै नियुक्तिको बाटो खुलेको हो । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठित उक्त समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य रहेका छन् ।
‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ जारी भएपछि आयोगका अध्यक्ष र चारै जना सदस्यहरू स्वतः पदमुक्त भएका थिए । लामो समयदेखि नेतृत्वविहीन रहेको आयोगलाई पूर्णता दिन मन्त्रालयले यो सक्रियता देखाएको हो ।
समितिले आयोगको अध्यक्षसहित चार सदस्य पदका लागि १५ दिनको म्याद राखेर छिट्टै सार्वजनिक सूचनामार्फत आवेदन आह्वान गर्ने तयारी गरेको छ । विद्युत् नियमन आयोग ऐनको प्रावधानअनुसार, आवेदन प्राप्त भएपछि समितिले उम्मेदवारहरूको योग्यता र क्षमताको मूल्याङ्कन गर्नेछ । दरखास्त दिने अन्तिम मिति सकिएको २१ दिनभित्र उपयुक्त उम्मेदवारहरूको नाम मन्त्रालयमा सिफारिस गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
ऊर्जा क्षेत्रको नियामक निकायका रूपमा रहेको यस आयोगमा हुने नयाँ नियुक्तिले जलविद्युत् आयोजनाहरूको अनुमति, विद्युत् महसुल निर्धारण र विवाद समाधान जस्ता महत्त्वपूर्ण कार्यहरूलाई थप गति दिने विश्वास लिइएको छ । मन्त्रालयले यसपटक विज्ञता र पारदर्शितालाई प्राथमिकता दिँदै खुला प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्न लागेको हो ।


















