३१ बैशाख, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले लामो समयदेखि नवीकरण नगरी सञ्चालन भइरहेका खेल संघहरूलाई खारेजीको चेतावनी दिएको छ ।
परिषद्ले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी असार १५ गतेभित्र अनिवार्य रूपमा नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र नियमावली, २०७९ को प्रावधान बमोजिम पटक(पटक ताकेता गर्दा पनि संघहरूले बेवास्ता गरेपछि राखेपले यो कठोर कदम चालेको हो ।
राखेपको तथ्याङ्कअनुसार परिषद्मा दर्ता भएका ७५ खेल संघमध्ये हालसम्म ३३ वटा संघले नवीकरण गरेका छैनन् । नवीकरण नगर्नेहरूको सूचीमा नेपाल क्रिकेट संघ (क्यान) जस्तो सक्रिय र चर्चित संघ समेत समावेश हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । तोकिएको समयसीमाभित्र वैधानिक प्रक्रिया पूरा नगर्ने संघहरूलाई प्रचलित कानुनबमोजिम खारेजीको प्रक्रियामा लैजाने राखेपको तयारी छ ।
नियमानुसार संघहरूले नवीकरणका लागि वार्षिक प्रतिवेदन, परिमार्जित विधान, आगामी कार्ययोजना, लेखा परीक्षण प्रतिवेदन ९अडिट रिपोर्ट० र वर्षमा कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।
धेरैजसो संघहरूले आर्थिक पारदर्शिता र नियमित प्रतियोगिताको कागजात जुटाउन नसक्दा नवीकरण प्रक्रिया अल्झिने गरेको पाइएको छ । राखेपको यो पछिल्लो सक्रियताले खेलकुद क्षेत्रमा अनुशासन र कानुनी सुशासन कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।


















