Logo

१६ वैशाख, रक्सौल ।सीमावर्ती भारतीय क्षेत्रमा अहिले डाँकाको डरले स्थानीय त्रसित भएका छन् ।घोडासहन, भेलाही, रक्सौलस्थित महादेवा, पचपोखरियालगायतका क्षेत्रमा विगतका दिनमा लगातार भइरहेका डाँकाका घटनासँगै रक्सौललगायत सीमावर्ती क्षेत्रका बासिन्दाहरू राति जाग्राम बसी आआफ्नो जानमालको सुरक्षा गरिरहेका छन् ।

प्राप्त सूचना अनुसार बुधवार राति १ बजेको समयमा सीमावर्ती क्षेत्र भेलाहीमा घनञ्जय गुप्ताको घरमा ५०–६० जनाको डाँका समूहले लुटपाट गरेको छ । घरधनी गुप्तालगायत परिवारजनलाई बन्धन बनाइ ग्याँस कटरको माध्यमबाट ढोका फोडेर प्रवेश गरेका डाँकाहरूले करीब रु ४५ लाखको लुटपाट गरेका छन् ।

घटनामा १५ लाख नगद र ३० लाख बराबरका गरगहनासहित करीब ४५ लाखको सम्पत्ति लुटिएको घरधनी गुप्ताले बताए ।करीब ४० मिनेटसम्म लुटपाट गरेका डाँकाहरूको भाग्ने क्रममा स्थानीय प्रहरी प्रशासनसँग भिडन्त भएको थियो । प्रहरी र डाँकाहरूबीच गोली हनाहन भएको थियो तर बम प्रहार गरी डाँकाहरू नेपाली सीमातर्फ भाग्न सफल भए ।

सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र बिहार पुलिसको तैनाथी छ । तर पनि निर्धक्क लगातार भइरहेका डकैतीका घटनाबाट स्थानीयहरूबीच भयको वातावरण व्याप्त भएको स्थानीयले बताउँछन् ।

घटनाको सिसिटिभी फुटेजको आधारमा घटनामा संलग्न डकैतहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । हाफ पाइन्ट र भेस्टमा डाँकाहरू घरभित्र प्रवेश गरेका धरधनी गुप्ताले बताए ।

घटना सम्बन्धमा पूर्वी चम्पारण जिल्लाका एसपी कन्तेशकुमार मिश्र, डिएसपी धीरेन्द्र कुमारले घरधनी गुप्तासँग गरेको पूछताछमा डकैतहरूले हिन्दी र नेपालीमा आपसी कुराकानी गरेको पाइएको छ । सोधपुछको आधारमा डकैतहरूलाई पक्राउ गर्न विशेष टोली गठन भएको एसपी मिश्रले बताए ।साभार प्रतीक दैनिक

 


सम्बन्धित समाचार