३१ बैशाख, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक आह्वान गर्नुभएको छ ।
स्वास्थ्य समस्याका कारण केही समयदेखि औपचारिक कार्यक्रमहरूबाट टाढा रहनुभएका ओलीले आगामी शनिबारका लागि बैठक बोलाउनुभएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिनुभयो । बैठकको ठोस स्थान भने तय भइनसकेको र अध्यक्षको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पार्टी कार्यालय वा उहाँको निजी निवास गुण्डुमध्ये एक ठाउँमा बस्ने बताइएको छ ।
पछिल्लो समय पक्राउ र रिहाइको घटनाक्रमसँगै पित्तथैलीको शल्यक्रिया गराउनुभएका अध्यक्ष ओलीलाई चिकित्सकहरूले आराम गर्न सुझाव दिएका थिए । सोही कारण पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई सुम्पिएको थियो। यद्यपि, ओलीले निवासबाटै अनौपचारिक भेटघाट र राजनीतिक परामर्शलाई भने निरन्तरता दिँदै आउनुभएको थियो ।
लामो समयको स्वास्थ्य लाभपछि बस्न लागेको यो औपचारिक बैठकलाई एमालेभित्र निकै चासोका साथ हेरिएको छ । शनिबार बस्ने सचिवालय बैठकले पार्टीको आगामी कार्यदिशा, साङ्गठनिक सुदृढीकरण र वर्तमान सत्ता समीकरणका सन्दर्भमा महत्वपूर्ण निर्णयहरू लिन सक्ने अनुमान गरिएको छ । अध्यक्ष ओली पुनः सक्रिय भएसँगै एमालेका रोकिएका औपचारिक गतिविधिहरूले पनि गति लिने देखिएको छ ।


















