३१ वैशाख,काठमाडौं । भारतको उत्तर प्रदेश मा गए राति आएको भीषण आँधी र वर्षाका कारण कम्तीमा ५६ जनाको ज्यान गएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ। तीव्र गतिको हावाहुरीका कारण सयौँ रूख तथा बिजुलीका पोलहरू ढलेका छन् भने कच्ची घरहरू भत्किएका छन्।
अधिकांशको मृत्यु घरको पर्खाल भत्किँदा वा रूखले च्यापिँदा भएको जनाइएको छ। आँधीका कारण मानिससँगै पशु चौपायाको पनि ठूलो क्षति भएको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ ले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको छ।
आँधी र वर्षाका कारण धेरै क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ भने राहत तथा उद्धार कार्य जारी रहेको बताइएको छ। अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने आशङ्का गरेका छन्।


















