Logo

 ३१ वैशाख,काठमाडौं ।  मधेश प्रदेशसभाका सभामुख रामआशिष यादव ले कुपोषण न्यूनीकरण तथा मातृ–शिशु स्वास्थ्य सुधारका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभएको छ।

स्वास्थ्य निर्देशनालयद्वारा लालगढमा आयोजित तीनदिने ‘प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलन’को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले पोषणको विषय केवल स्वास्थ्य क्षेत्रसँग मात्र सीमित नरहेको उल्लेख गर्नुभयो। शिक्षा, कृषि, खानेपानी, सरसफाइ तथा सामाजिक चेतनासँग पोषण प्रत्यक्ष रूपमा जोडिएको भन्दै उहाँले बहुआयामिक सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

सभामुख यादवले मधेश प्रदेशमा अझै पनि बालबालिका तथा महिलामा कुपोषण चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि दीर्घकालीन नीति, व्यावहारिक योजना तथा प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो।

मधेश प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रूपाकुमारी यादव ले महिलाको स्वास्थ्य, बालअधिकार तथा पोषण सुरक्षालाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले विशेषगरी ग्रामीण तथा विपन्न समुदायमा पोषणसम्बन्धी चेतनाको अभाव रहेको उल्लेख गर्दै स्थानीय तहसँग सहकार्य गरी जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोद यादव ले पोषण र जनसङ्ख्याबीच प्रत्यक्ष सम्बन्ध रहेको बताउनुभयो। जनसङ्ख्या वृद्धि, गरिबी, अशिक्षा तथा असन्तुलित खानपानका कारण कुपोषणको समस्या अझ चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ थियो।

सम्मेलनमा पोषण, मातृ तथा शिशु स्वास्थ्य, किशोरी पोषण, जनसङ्ख्या अवस्था, खाद्य सुरक्षा तथा पोषणमैत्री नीति कार्यान्वयनलगायत विषयमा पाँच वटा कार्यपत्र प्रस्तुत गरिएको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार