Logo

१ जेठ, काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सङ्घीय सांसद हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदीय मर्यादा र परम्परालाई बेवास्ता गरी सदनको अपमान गरेको भन्दै तत्काल पद त्याग गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा सांसद साम्पाङले प्रधानमन्त्री शाहको पछिल्लो व्यवहारलाई संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ को संज्ञा दिएका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा प्रधानमन्त्री उपस्थित नहुनु र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुको साटो पन्छिनुले लोकतन्त्रप्रतिको विश्वास लत्याएको साम्पाङको जिकिर छ । “जनताको सार्वभौम सदनलाई बेवास्ता गरेर प्रधानमन्त्रीले आफ्नो न्यूनतम संवैधानिक कर्तव्य समेत बिर्सिएका छन्,” विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीलाई ‘असक्षम र असफल’ को संज्ञा दिँदै साम्पाङले जनताका प्रतिनिधिले सोधेका प्रश्नहरूबाट भागेर लुक्ने प्रवृत्तिले गलत नजिर बसाल्ने उल्लेख गरेका छन्। उनले विज्ञप्तिमार्फत प्रश्न गरेका छन्, “आफ्नो धरातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने र लुकेर बस्ने प्रवृत्तिले लोकतन्त्रमा कस्तो सन्देश जान्छ?”

कर्तव्य पूरा नगर्नेलाई पदमा बसिरहने अधिकार नहुने तर्क गर्दै साम्पाङले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । “न्यूनतम कर्तव्य समेत पूरा नगरेका कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा नै लोकतन्त्र सम्मानित हुने देखिन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

संसद्‌मा नीति तथा कार्यक्रम पारित हुने क्रममा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर अन्य विपक्षी दलहरूले पनि विरोध जनाइरहेका बेला सांसद साम्पाङको यो कडा प्रतिक्रियाले राजनीतिक वृत्तमा थप चर्चा पाएको छ ।

HARKA-1778816035.jpg


सम्बन्धित समाचार