Logo

१ जेठ,काठमाडौं ।  पाकिस्तानसँगको सीमा तनाव र इरानमा जारी युद्धका कारण आपूर्ति शृङ्खला प्रभावित हुँदा अफगानिस्तानमा कुपोषणको समस्या झन् गम्भीर बन्दै गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। पर्याप्त आर्थिक स्रोत र सहज ढुवानी व्यवस्था भएको भए कुपोषणको जोखिममा रहेका थप १० लाख बालबालिकासम्म सहायता पुर्‍याउन सकिने अवस्था रहेको राष्ट्रसङ्घको भनाइ छ।

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का एक वरिष्ठ अधिकारीका अनुसार सीमा अवरोध, बढ्दो ढुवानी लागत र क्षेत्रीय द्वन्द्वका कारण मानवीय सहायता वितरणमा ठूलो असर परेको छ। उनले हालको परिस्थितिले खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्रीको आपूर्तिमा कठिनाइ सिर्जना गरेको बताए।

पछिल्ला महिनाहरूमा अफगानिस्तानले भूकम्प, जलवायुजन्य विपद् र छिमेकी मुलुकबाट ठूलो सङ्ख्यामा फर्किएका नागरिकको चापसमेत सामना गरिरहेको छ। यसले देशको खाद्य असुरक्षा र स्वास्थ्य संकटलाई थप जटिल बनाएको डब्लुएफपीले जनाएको छ।

पाकिस्तानसँगको तनावका कारण करिब आठ महिनादेखि सीमा नाका लगभग बन्द अवस्थामा रहेको छ। यसबाट खाद्यान्न, इन्धन र औषधिको आपूर्तिमा व्यापक अवरोध उत्पन्न भएको बताइएको छ। त्यस्तै, इरानमा जारी युद्धको विश्वव्यापी आर्थिक प्रभावले पनि अफगानिस्तानको मानवीय अवस्था थप चुनौतीपूर्ण बनेको छ।

डब्लुएफपीका अनुसार खाद्यान्न तथा इन्धनको मूल्यवृद्धि र आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण राहत सामग्री ढुवानीमा ढिलाइ भइरहेको छ। साथै, आवश्यक आर्थिक सहयोग जुटाउन पनि कठिनाइ भइरहेको संस्थाले जनाएको छ। अफगानिस्तानका लागि आवश्यक वार्षिक कोषमध्ये हालसम्म केवल आठ प्रतिशत रकम मात्रै सङ्कलन हुन सकेको डब्लुएफपीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै