Logo

१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिनुभएको छ ।

सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेपछि आफ्नो प्रतिक्रिया दिँदै नेता आङ्देम्बेले उक्त समिति केवल औपचारिकतामा सीमित हुन नहुने बताउनुभयो । उहाँले समितिको मुख्य कार्य सत्यतथ्य बाहिर ल्याउनु हुनुपर्नेमा जोड दिँदै कतै यो समिति गुरुङलाई राजनीतिक रूपमा चोख्याउने दाउ मात्र त होइन भन्ने आशङ्का समेत व्यक्त गर्नुभएको छ ।

विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी र शङ्कास्पद आर्थिक सम्बन्धको विषय सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९ गते नैतिकताको आधारमा राजीनामा दिनुभएको थियो । तर, राजीनामा दिएको लामो समयसम्म पनि सरकारले कुनै छानबिन प्रक्रिया अगाडि नबढाएको भन्दै नेता आङ्देम्बेले संसद्‌मा कडा आलोचना गर्नुभएको थियो ।

सरकारले अरूलाई भ्रष्टाचारको मुद्दामा ‘अल्गोरिदेमिक’ रूपमा खेद्ने तर आफ्नै पूर्वमन्त्रीमाथि उठेका प्रश्नमा मौन बस्ने दोहोरो मापदण्ड अपनाएको उहाँको आरोप थियो। संसद्‌मा कांग्रेसले उठाएको निरन्तरको दबाबपछि मात्र सरकारले बिहीबार छानबिन समिति गठनको घोषणा गरेको हो।

सरकारले गठन गरेको यस समितिले पूर्वगृहमन्त्री गुरुङमाथि लागेका आरोपहरूको सूक्ष्म अध्ययन गरी प्रतिवेदन बुझाउनुपर्ने जिम्मेवारी पाएको छ । नेता आङ्देम्बेले प्रतिवेदनले दोषीलाई कानुनी कठघरामा उभ्याउन मद्दत गर्नुपर्ने र यसले जनतामाझ न्यायको अनुभूति गराउनुपर्ने धारणा राख्नुभएको छ ।

यदि छानबिन निष्पक्ष नभई केवल राजनीतिक रक्षाकवचका रूपमा प्रयोग गरिएमा कांग्रेसले त्यसलाई स्वीकार नगर्ने उहाँको चेतावनी छ । न्याय र सुशासनका लागि राज्यका संयन्त्रहरू जिम्मेवार हुनुपर्ने भन्दै उहाँले समितिको आगामी कार्यसम्पादनलाई नजिकबाट नियाल्ने बताउनुभयो ।


सम्बन्धित समाचार