१ जेठ,काठमाडौं । राष्ट्रिय महत्त्वको हेटौँडा–ढल्केवर–दुहवी ४०० केभी प्रसारण लाइनअन्तर्गत हेटौँडा–ढल्केवर खण्डको निर्माण कार्यले पुनः गति लिएको छ। लामो समयदेखि मुआब्जा तथा जग्गा विवादका कारण अवरुद्ध रहेको आयोजना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ को पहलपछि अघि बढेको हो।
नेपाल विद्युत प्राधिकरणका अनुसार प्रभावित स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवालासँग मन्त्री श्रेष्ठले निरन्तर समन्वय गरेपछि जग्गाधनीहरूले मुआब्जा स्वीकार गरेका छन्। त्यसपछि रोकिएको प्रसारण लाइनको टावर निर्माण कार्य पुनः सुरु भएको हो।
सन् २०१२ देखि निर्माण सुरु भएको यस आयोजनाअन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल २८८ किलोमिटर लम्बाइको प्रसारण लाइनमध्ये १५४ किलोमिटर लामो ढल्केवर–इनरुवा खण्ड भने तीन वर्षअघि नै सञ्चालनमा आइसकेको छ। तर १३४ किलोमिटर लामो हेटौँडा–ढल्केवर खण्ड मुआब्जा विवादका कारण ढिलाइ हुँदै आएको थियो।
प्राधिकरणले हेटौँडा क्षेत्रमा निर्माण गर्नुपर्ने १४ वटा टावरमध्ये हालसम्म तीन वटाको निर्माण सम्पन्न भएको जनाएको छ। बाँकी दुई वटाको इरेक्सन कार्य जारी रहेको छ। सबै टावरको फाउन्डेसन निर्माण सम्पन्न भइसकेको र बाँकी संरचनात्मक काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ ले टावर निर्माणसँगै मुआब्जा तथा क्षतिपूर्ति वितरण प्रक्रिया समानान्तर रूपमा अघि बढाइएको बताए। उनले प्रभावितलाई कानुनअनुसार उचित क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै तार तान्ने कामसमेत सुरु भइसकेको जानकारी दिए।
श्रेष्ठका अनुसार चालु आर्थिक वर्षभित्र प्रसारण लाइन सञ्चालनमा नआए वर्षायाममा उत्पादन हुने करिब ८०० मेगावाट विद्युत प्रसारण हुन नसकी खेर जाने जोखिम रहेको छ।




















