Logo

१ जेठ,वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण सम्बन्धी सूचना जारी गर्दै सबै नागरिक तथा सरोकारवालालाई सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न आग्रह गरेको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद २३ अन्तर्गत स्थानीय तहको सम्पत्ति संरक्षण सम्बन्धी व्यवस्था तथा ऐनको दफा ९७ अनुसार गाउँपालिका तथा नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुने उल्लेख गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादवले बिहीबार सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्।

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८३/०१/१३ गतेको १०० बुँदे कार्ययोजनाको बुँदा नं. ९२ तथा जिल्ला प्रशासन कार्यालयको प.सं. ०८२/०८३, च.नं. ५३६५, मिति २०८३/०१/२१ गतेको पत्रअनुसार गाउँपालिकाले उक्त सूचना जारी गरेको जनाएको छ।

सूचनामा संघ, प्रदेश तथा स्थानीय सरकारको स्वामित्वमा रहेका सरकारी तथा सार्वजनिक जग्गा गैरकानुनी वा अनाधिकृत रूपमा अतिक्रमण, कब्जा तथा तोकिएको उद्देश्यभन्दा फरक प्रयोजनमा प्रयोग नगर्न चेतावनी दिइएको छ। यस्ता कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने समेत उल्लेख गरिएको छ।

गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास नगर्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कार्यमा सहयोग गर्न, जोखिमपूर्ण स्थानमा बसोबास नगर्न तथा अतिक्रमण भएको जानकारी भए सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

सार्वजनिक सम्पत्तिको संरक्षण सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै गाउँपालिकाले सम्पूर्ण नागरिकलाई संरक्षण अभियानमा सहयोग गर्न अपिल गरेको छ।


सम्बन्धित समाचार