१ जेठ, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मत लिने कार्यक्रम तत्कालका लागि स्थगित गर्दै आगामी जेठ ८ गतेका लागि सारेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थनबारे ठोस निर्णय लिन नसकेपछि र सत्तारुढ दलभित्रै आन्तरिक समीकरणमा फेरबदल आउन सक्ने जोखिम देखिएपछि मुख्यमन्त्रीले समय थप गर्न सभामुखलाई पत्राचार गरेका हुन् । यसअघि वैशाख २१ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार आजै विश्वासको मत लिने तयारी गरिएको थियो ।
विश्वासको मत सर्नुमा जसपा नेपालभित्रको आन्तरिक विवाद र नेपाली कांग्रेसभित्रको असन्तुष्टि मुख्य कारण देखिएको छ। जसपा नेपालका सांसदहरूबीच विश्वासको मत दिने वा नदिने भन्नेमा तीव्र मतभेद देखिएको छ भने कांग्रेसकै केही नेताहरूले ुफ्लोर क्रसु गर्न सक्ने सूचना बाहिरिएपछि मुख्यमन्त्री यादव सतर्क देखिएका छन्। जसपा नेपालको बैठक अझै जारी रहे पनि ठोस निष्कर्ष आउन नसक्दा मुख्यमन्त्रीले सुरक्षित अवतरणका लागि मतदानको मिति पछाडि धकेलेको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।
उता, सरकारबाट समर्थन फिर्ता लिएको जनमत पार्टीले आफ्ना सांसदहरूलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ। यद्यपि, सोही पार्टीका दुई मन्त्रीहरू अझै सरकारमै बहाल रहनुले मधेस प्रदेशको राजनीति थप पेचिलो बनेको छ ।
सत्ता समीकरण जोगाउन र बहुमत सुनिश्चित गर्न मुख्यमन्त्रीले थप समय लिएसँगै अबको केही दिन मधेस प्रदेशमा राजनीतिक दलहरूबीचको रस्साकस्सी अझै बढ्ने देखिएको छ ।


















