Logo

१ जेठ,वीरगञ्ज । वीरगञ्जमा शुक्रबार पनि बजार अनुगमनलाई निरन्तरता दिँदै संयुक्त अनुगमन टोलीले अस्पताल परिसरभित्र सञ्चालित क्यान्टिन तथा विभिन्न होटललाई जरिवाना गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१३ स्थित तराई हस्पिटल परिसरभित्र सञ्चालनमा रहेको क्यान्टिनलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो। अनुगमनका क्रममा उक्त क्यान्टिन दर्ताविनै सञ्चालन गरिएको, सरसफाइको अवस्था कमजोर रहेको तथा कामदारहरूले स्वच्छता मापदण्ड पालना नगरेको पाइएको अनुगमन टोलीका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए।

उनका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड “ट” तथा दफा ३९(१) को खण्ड “घ” अनुसार क्यान्टिनलाई जरिवाना गरिएको हो।

त्यसैगरी, सोही क्षेत्रमा सञ्चालित ज्योती मगर होटललाई २० हजार रुपैयाँ तथा उर्मिला महतोद्वारा सञ्चालित होटललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। बुद्ध होटललाई भने आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पर्क राख्न निर्देशन दिइएको टोलीले जनाएको छ।

अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका मधुरेश शाह, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जका श्रवण कुमार साह, उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका प्रकाश कुमार शाह, वीरगन्ज उद्योग वाणिज्य संघका मनोज कुमार दास तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक रामकुमार थिङ लगायतको सहभागिता रहेको थियो।


सम्बन्धित समाचार