Logo

२८ भदौ, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ शुरु गरेको छ । वडा नं ३० स्थित लालपर्सा स्वास्थ्य चौकीमा मेयर राजेशमान सिंहले कार्यक्रमको उद्घाटन गरेका छन् ।
‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’का लागि महानगरले प्रयोगशाला सहितको मोबाईल भ्यान तयार गरेको छ । चिकित्सक, स्वास्थ्यकर्मीको टोली प्रयोगशाला सहितको मोबाईल भ्यान सहित गएर गाँउघरमै पुगेर सेवा दिनेछन् । आईतबारदेखि लालपर्सामा शुरु भएको कार्यक्रम ३० गतेसम्म चल्नेछ । बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म स्थानीयले सेवा लिन सक्नेछन् ।
प्रसुती रोग विशेषज्ञ र जनरल फिजिसियन सहित २१ जना स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीको टोली कार्यक्रमका लागि खटिएका छन् । कार्यक्रम मार्फत सर्वसाधरणलाई प्रयोगशाला (रगत, पिसाब जाँच ) ईसिजी, भिडियो एक्स–रे सेवा ( गर्भवतीलाई) प्रदान गरिएको वीरगञ्ज महानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले जानकारी दिए ।
पूर्व प्रमुख विजय कुमार सरावगीले शुरुवात गरको मेयर घरदैलौ कार्यक्रमलाई नगर प्रमुख सिंहले निरन्तरता दिएका छन । उनले ग्रामिण भेगमा बस्ने नगरबासीको पैसा र समयको बचत होस भनेर ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ लाई निरन्तरता दिएको बताए ।
‘वीरगञ्ज महानगर १३२ वर्ग किलोमिटरमा फैलिएको छ । पछि थपिएका १६ वटा ग्रामिण वडाबाट वीरगञ्जको मुख्य बजार क्षेत्र पुग्न समय लाग्छ । औषधि उपचारमा पनि बढी खर्च लाग्छ ।’ उनले भने ‘उनीहरुले आफ्नै गाउँ ठाउँमा बसेर नै आधारभूत स्वास्थ्य सेवा पाउन भन्ने उद्देश्यले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ शुरु गरेका हौं ।’
गाउँघरका महिलाले पुरुष चिकित्सक, स्वास्थ्यकर्मीसँग खुलेर आफ्नो स्वास्थ्य समस्या नराख्ने भएकोले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’मा महिला टिम नै खटाईएको उनको भनाई छ ।
‘महिलाले खुलेर स्वास्थ्य समस्या राखुन भनेर महिला चिकित्सक, स्वास्थ्यकर्मीको टोली नै खटाएका छौं । उनीहरुसँग महिलाले खुलेर आफ्नो स्वास्थ्य समस्या बताउन सक्छन् ।’ उनले भने ‘गर्भवतीलाई भिडियो एक्स–रे गर्न आवश्यक देखियो भने त्यो सुविधा पनि छ । उनीहरुलाई आवश्यक पर्ने भिटामिन र पौष्टिक आहारपनि वितरण गर्छौ ।’
कार्यक्रम मार्फत चिकित्सकहरु नै घरदैलोमा पुगेर गर्भवती जाँच, सुगर, ब्लड प्रेसरको नियमित चेकजाँच सेवा दिने भएकोले ग्रामिण भेगका जनताले स्वास्थ्य सेवाका लागि वीरगञ्जका ठूला ठूला अस्पतालहरु धाईरहनु नपर्ने उनले बताए ।
गाउँघरमै डाक्टर आएर सेवा दिएपछि स्थानीय दंग
लालपर्सा स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा छैन । न वर्थिङ सेन्टर नै सञ्चालित छ । हेल्थ असिस्टेन्ट, सिनियर अहेब, अहेब, स्टाफ नर्स र अनमिले सक्ने सेवा दिन्छन् । अन्य विरामीलाई रिफर गरिदिन्छन् ।
सहर बजारका अस्पताल र क्लिनिकमा मात्र भेटिने प्रसुती रोग विशेषज्ञ र जनरल फिजिसियन डाक्टर सहितको टोली स्वास्थ्य चौकीमा भेटिएपनि स्थानीय दंग छन् । वीरगञ्जमा विशेषज्ञ डाक्टरलाई भेट्न मात्रै ८ सय रुपैयाँ फि तिर्नुपर्छ ।
लालपर्साका लाल बहादुर प्रसाद यादवले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मार्फत आएपछि ब्लड प्रेसर र मुटुको जाँच गराए । वीरगञ्जमा पाउने सुविधा गाउँमै पाएको भन्दै उनी खुशी देखिन्थे ।
‘लालपर्सा स्वास्थ्य चौकीमा यस्तो सुविधा कहिल्यै मिलेको थिएन, गाउँघरमै औषधी उपचार राम्रोसँग भयो ।’ उनले भने ‘ रगत पिसाब सबैको चेकजाँच हुनेगरि सेवा प्रवाह भयो धेरै राम्रो भयो ।’
सञ्जुदेवीले मेयर र वडा अध्यक्षले आफूहरुको स्वास्थ्यबारे ध्यान दिएकोमा धन्यवाद दिईन् । ‘स्वास्थ्य भन्दा ठूलो केहि छैन, मेयर र वडा अध्यक्षले आम जनताको स्वास्थ्य बारे चासो दिएका छन् ।’ उनले भनिन् ‘ स्वास्थ्य जाँच, उपचारसँगै आवश्यक औषधि पनि दिएका छन् । कुनै औषधि यहाँ पाईएन भनेपनि बाहिर किनेर त खान सकिन्छ न ? यी सबै सुविधाका लागि वीरगञ्जमा जानुपर्ने हुन्थ्यो ।’
चिकित्सकले लालपर्साकै चिन्तादेवीलाई दुःख विराम के छ ? भनी सोधेर औषधि दिए । वीरगञ्ज र अन्य सहरमा गएर लिनुपर्ने स्वास्थ्य सेवा गाउँमै पाएको उनले बताईन् ।


सम्बन्धित समाचार