Logo

१२ कार्तिक, माडी चितवन । संविधान दिवसमा आममाफी पाएर कारागारबाट छुटेको एक महिनामा आफ्नै साथिको हत्या गरेको आरोपमा प्रहरीले एक ब्यक्तिलाई पक्राउ गरेको छ ।

गैंडाकोट नगरपालिका टोलटोलेका बासिन्दा ३४ वर्षीय सुरेशबहादुर कुमाललाई प्रहरीले माडी नगरपालिका वडा नं. ४ सितलपुरका जीवन बहादुर नेपालीको हत्या आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माका अनुसार शुक्रवार राती जीवनलाई उनको घरमा कोही नभएको मौका छोपेर हत्या गरेको प्रहरीसँगको प्रारम्भीक वयानमा स्वीकार गरेका छन ।

२०६९ साल कार्तिक ११ गते नवलपुरको गैडाकोटमा आफ्नै हजुरआमा र काकीको हत्याको अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय पाएका कुमाल २०७९ को संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपतिबाट आममाफी पाएर मकवानपुरको भिमफेदी कारागारबाट जेलमुक्त भएका थिए ।

गत राति माडी नगरपालिका वडा नंं. ४ शितलपुर घुँसेरीका ३४ वर्षीय जीवन नेपाली मृत फेला परेका थिए । उनको टाउकोमा गम्भीर घाउ चोट थियो । मृत शरिरको नजिकै धारिलो हतियार खुकुरी पनि भेटिएको थियो । जीवनको श्रीमती तिहार मान्न माइत गएको मौकामा उनको हत्या भएको प्रहरीको भनाइ छ ।

घटना थाहा पाएलगत्तै इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक सन्तोष खडकाको नेतृत्वमा रहेको प्रहरी टोलीले घटनामा संलग्न भएका सुरेशलाई माडी नगरपालिका वडा नं. ३ बसन्तपुरको भित्री सडकमा शंकास्पद अवस्थामा हिडिरहेको बेला पक्राउ गरेको प्रहरी निरीक्षक शर्माले बताए ।

उसलाइ १० वर्षअघि नवलपरासी जिल्ला अदालतले सर्वोश्वसहित जन्मकैदको सजाय सुनाएको व्यक्ति भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

डीएसपी अधिकारीका अनुसार ०७९ सालको संविधान दिवसको अवसरमा आममाफी पाएर सुरेश कैदमुक्त भएका थिए । कैदमुक्त भएपछि कारागारमा साथि बनाएका माडी निवासी जीवन नेपालीको घरमा गएर १ महिना देखि बस्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ । जीवन नेपाली केही समय अघिमात्र भिमफेदी कारागारबाट सजाय भुक्तानगरी माडि स्थित आफ्नै घरमा बस्दै आएका थिए ।

भाइटीकाको दिनमा टीका लगाएर दुबै जनाले मदिरासमेत सेवन गरेको प्रहरीको भनाइ छ । जीवनको हत्यापछि सुरेश नजिकै रहेको रुपा नेपालीको घरमा पुगेका थिए । सुरेशले रुपाको घाँटी बेस्सरी अठ्याए मार्न खोजेका थिए । रुपा बेहोश भएपछि उनको कानमा लगाएको सुनको गहना लोती नै च्यातिने गरी तानेका थिए । रूपाको घाँटी थिचेर म¥यो भन्ने ठानेपछि उनी भागेको बेला पक्राउ परेको डीएसपी अधिकारीले बताए ।

उसले रुपा मरी भनेर छाड्यो र कानमा लगाएका सुनको गहाना लुछेर भाग्यो, चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले भने “उसले रुपालाई पनि मार्न खोजेको रहेछ ।” रुपाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सुरेश नेपालीलाई हत्या गरेको अवस्थामा रुपाले देखेको हुनसक्ने भन्दै उनलाई पनि हत्या गर्न खोजेको अभियुक्त कुमालले प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीको भनाई छ ।
ठीक १० बर्ष अगाडि कात्तिक ११ गते नै २ जनाको हत्या गरेको सुरेशले ठीक १० बर्षपछि पनि दुई जनालाई मार्न खोजेको देखियो, एक जना भाग्यवश बाँचिन्, प्रहरी उपरिक्षक अधिकारीले भने ।

चितवनका प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार जीवनको घरमा बस्दै आएका सुरेश खाना पकाउने र खुवाउने काम गर्थे । कात्तिक ११ गते मदिरा सेवन गरेपछि आफूलाई जीवनले जिस्क्याएको, ओठ टोकिदिएकोले हत्या गरेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।

कुमालले २०६९ साल कार्तिक ११ गते दशैको अघिल्लो दिन आफ्नै काकीसँग अवैध सम्वन्ध राख्दै गरेको अवस्थामा हजुरआमाले देखेपछि धारिलो हतियार प्रयोगगरि हजुरआमाको हत्या गरेको थियो । हजुरआमाको हत्या गरेपछि प्रतिकार गरेकी काकीलाई समेत कपडाले मुख छोपेर हत्या गरेको घटनामा अनुसन्धान गरिरहेका तत्कालीन प्रहरी अधिकृत देवराज शर्माले बताए ।

१० बर्ष अघि जस्तो प्रकृतिको अपराध गरेको थियो यसपटक पनि अपराधको शैली उस्तै देखियो, प्रहरी निरीक्षक शर्माले भने कारागार बसेर सुधार भएको देखिएन, उसको कर्मले झन खतरा संकेत गरेको देखिन्छ ।


सम्बन्धित समाचार