Logo

चुनाव प्रचारको क्रममा गोरखाको सिरानचोक पुगेका माओवादी केन्द्रका अध्यक्ष एंव गोरखा क्षेत्र नं. २ का प्रतिनिधि सभाका उमेदवार पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई

१३ कार्तिक, गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावपछि बन्ने सरकारको प्रधानमन्त्री र मुख्यमन्त्री गोरखाको क्षेत्र नं. २ ले पाउँने बताएका छन । आइतवर गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंसिर ४ गतेको निर्वाचन पछि देशको प्रधानमन्त्री बन्ने ठोकुवा गरेका हुन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित चुनवा प्रचारमा सिरानचोक पुगेका भट्टराईले प्रचण्ड देशको प्रधानमन्त्री र गण्डकी प्रदेशको मुख्यमन्त्रीको सुरेन्द्र पाण्डे बन्ने भएकोले गोरखाको विकास र समृद्धिका लागि गठबन्धनका उमेदवारलाई जिताउन आग्रह गरे ।

उनले ०६४ साल र ०७४ सालमा भएका दुई निर्वाचनमा यहाँका जनाताहरुले आफूलाई भारी मतका साथ विजयी बनाएको बताए ।तर अब पार्टी र संगठनमा अरु कुनै ढंगबाट सक्रिय रहने उनले बताए । अब मैले बिदा लिन्छु । एउटै मान्छै सधैं पदमा बस्न सक्दैन र हुँदैन पनि । म अब अरु कुनै ढंगले सक्रिय हुनेछु, उनले भने । आफूले निर्वाचन जितेपछि बाटो घाटो निर्माण र विकासका कामहरु भएको र केही बाँकी रहेको पनि उनले बताए ।

गठबन्धनको सरकार पाँच वर्ष चल्ने र अबको प्रधानमन्त्री पुष्पकमल दाहाल हुने उनले बताए । प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ । उहाँ सुयोग्य व्यक्ति हो, उनले भने, अबको सरकार पाँच वर्ष गठबन्धनले चलाउँछ । अबको प्रधानमन्त्री प्रचण्ड हो । यस्तै, प्रदेशसभामा कांग्रसका सुरेन्द्रराज पाण्डे उठेको र उनको जित हुने उनले बताए । अबको मुख्यमन्त्रीमा पाण्डेको सम्भावना रहेको उनले बताए । माओवादी अध्यक्ष दाहाल प्रतिनिधिसभा र कांग्रेसका पाण्डे प्रदेशसभा सदस्यमा गोरखा २ बाट आगामी मंसिर ४ मा निर्वाचनमा उठेका छन् ।

गोरखा २ मा २०७४ मा तत्कालीन नयाँ शक्तिबाट बाबुराम भट्टराई निर्वाचित भएका थिए। अहिले भट्टराई चुनाव नलडी उक्त क्षेत्रमा प्रचण्डलाई उम्मेदवार छाडेका थिए। भट्टराई नेतृत्वको समाजवादी पार्टीका उम्मेदवार माओवादीकै चुनाव चिन्ह हँसिया हतौडामा चुनाव लड्दैछन्।

चुनाव प्रचारको क्रममा गोरखाको सिरानचोक पुगेका माओवादी केन्द्रका अध्यक्ष एंव गोरखा क्षेत्र नं. २ का प्रतिनिधि सभाका उमेदवार पुष्पकमल दाहाल प्रचण्डको स्वागमा बसेका सिरानचोकमा मतदाता

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताएका छन् । आइतबार गोरखामा आयोजित कार्यक्रममा उनले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुस गरेको बताए ।

‘गोरखा आउन पाएकोमा गौरवान्वित भएको छु, एकदमै खुशी छु । अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो’ उनले भने, एक ढंगले यहाँ आउँदा रिल्याक्स महशुस गरेको छु ।’

प्रचण्डले आफू निश्चित सपना बोकेर गोरखा आएको भन्दै अब विकास र समृद्धिको यात्रा गोरखाबाट सुरु गर्ने बताए । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा गोरखा–२ बाट यसअघि निर्वाचित नेता डा। बाबुराम भट्टराईप्रति प्रचण्डले कृतज्ञता व्यक्त गरे ।

‘सधैं एउटै मान्छे हुनु ठीक होइन भनेर उहाँले उदारता व्यक्त गर्नुभयो, तर मलाई मलाई यहाँ हुनुपर्छ भनेर जोड गर्नुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु’ प्रचण्डले भने ।

प्रचण्डले सुशासन र विकासको सपना बोकेर गोरखा आएको बताए । उनले राजनीतिक परिर्वतनको औचित्य पुष्टि गर्नका लागि पनि म गोरखा आएको हुँ, प्रचण्डले भने “विकास र समृद्धिको कामलाई सफल पार्न सकिएन भने राजनीतिक परिर्वतनको औचित्य पुष्टि गर्न गाह्रो हुन्छ ।”


सम्बन्धित समाचार