Logo

२० कार्तिक, वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले बारा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा तालबन्दी गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पुर्व सध्यामा वडा अध्यक्ष गुप्ताले आईतबार निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका हुन् । जीतपुरका केही स्थानीय सहित उपमहानगरपालिका पुगेका गुप्ताले मुख्य गेटमै ताला लगाएपछि निर्वाचन अधिकृत कार्यालयमै थुनिएका हुन् ।

मुख्य गेटमै ताला लगाएपछि निर्वाचन अधिकृतको कार्यालय र जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारी कार्यालयभित्र थुनिएका छन् । निर्वाचन अधिकृत कर्ण बहादुर राईले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउनु दुखद भएको बताए । ‘निर्वाचनको समयमा कर्मचारीलाई थुनेर बाहिर ताला लगाउने कार्य निकै नै दुखद हो, जसले यो काम गरेको छ कारवाही गर्नुपर्छ’ उनले भने ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले वडा अध्यक्ष गुप्ताको अराजकता बढेको बताए । गुप्ताको अराजकताले नगरपालिकामा काम गर्ने वातावरण बिग्रिएको बताए । उनले भने, ‘वडा अध्यक्ष गुप्ताका कारण काम गर्ने वातावरण छैन्, उहाको यो कार्यशैलीका कारण नगरपालिका नै बदनाम भईरहेको छ ।’

गुप्ताले यसअघि पनि उपमहानगरपालिकाको मुख्य गेटमा ताला लगाएका थिए । उनलाई कारवाहीको लागि नगर प्रमुख पौडेलले कानूनी प्रकृया पनि अघि बढाएका थिए । तर पछि आफ्नो गल्ती स्वीकार गरेपछि कारवाही रोकिएको थियो ।

यसअघि नगरपालिकाको मूलगेट मै ताला लगाएर सार्वजनिक सेवा प्रवाह अवरोध गरेको कसुरमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ग) को उपदफा १ को (ग) अनुसारको कारवाहीको लागि नगर प्रमुख राजन पौडेलले सिफारिस गरेका थिए ।

 


सम्बन्धित समाचार