Logo

मोरङ क्षेत्र नम्बर ३ (१) बाट नेपाली काग्रेसको तर्फबाट प्रदेशसभाका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएको छ । निमोनियाबाट विरामी भई अस्पताल भर्ना भएका उनको बुधवार विहान मृत्यु भएको हो ।

उनको मृत्यू भएपनि निर्वाचन आयोगले निर्धारित समयमै निर्वाचन हुने जनाएको छ । यद्यपि आयोगले नयाँ उम्मेदवारी दर्ता गर्न नेपाली काँग्रेसलाई समय दिनेछ । उक्त समयमा काँग्रेसले नयाँ उम्मेदवारी दिने र अन्य दलका तर्फबाट यसअघि उम्मेदवार बनेकाहरुको कायम रहनेछन् । निर्वाचन आयोगको प्रदेश १ कार्यालय विराटनगरका प्रखुम लेवन काश्यप अधिकारीका अनुसार निर्वाचन निर्धारित मिति मंसिर ४ मै हुनेछ । प्रदेश निर्वाचन ऐनको दफा ३२ मा उम्मेदवारको मृत्यु भएमा के गर्ने भन्ने विषय उल्लेख छ ।

उक्त दफाको उपदफा ४ मा निर्वाचन कार्यक्रममा लेखिएबमोजिमको काम सम्पन्न गर्नुपर्ने अवधि पन्ध्र दिनभन्दा बढी भएमा पुनः अर्को कार्यक्रम प्रकाशन गर्नुपर्ने छैन । सोही कार्यक्रमको समयावधिभित्र मतदानको काममा बाधा नपुग्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी काम पूरा गर्नुपर्ने गरी निर्वाचन कार्यक्रम निर्धारण गर्नुपर्नेछ भन्ने उल्लेख छ ।

यस्तै उपदफा ५ मा उपदफा (१) बमोजिम निर्वाचन कार्यक्रम स्थति भएकोमा पहिलो मनोनयनपत्र पेश गरेको उम्मेदवारले पुनः मनोनयनपत्र दाखिला गर्नुपर्ने छैन र जुन दलको उम्मेदवारको मृत्यु भएको हो त्यस्तो दलको तर्फबाट मात्र पुनः उम्मेदवार मनोनयन गर्न सकिनेछ भन्ने उल्लेख छ । काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले नयाँ उम्मेदवारको विषयमा अहिले छलफल नहुने बताए । ‘यो विषयमा अहिले हामीले केही सोचका छैनौं,’ लिम्बुले भने ।

थापाको आज बिहान १० बजेर ४० मिनेटमा नोबेल अस्पतालमा मृत्यु भएको हो । थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए । असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै थापा बिरामी थिए । भोलिपल्ट असोज २४ गते उपचारकालागि नोबेल अस्पताल भर्ना भएका उनलाई त्यहाँ उपचार हुन नसकेपछि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पताल लगिएको थियो ।

उक्त अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थियो । थापालाई क्याप्सिका निमोनिया भएको थियो । उनलाई दुई दिन अगाडि बेड रेस्टको लागि भन्दै नोबेल अस्पताल ल्याइएको थियो । २०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालाको पर्सनल असिस्टेन भएर काम गरेका थापा हाल प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थिए ।


सम्बन्धित समाचार