Logo

वीरगन्ज, २६ कार्तिक । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन जति नजिकदो छ उत्तिनै उमेदवारहरु जनताको घरदैलोमा पुगेर भोट माग्न व्यस्त देखिन्छन् । उमेदवार घरदैलोमा जादा जनताले दैनिकी जीविकासँग जोडिएका समस्य मात्र उठाउने गरेका भनाई उमेदवारहरुको छ ।

पर्साको निर्वाचन क्षेत्र नं. १ को (क) मा प्रदेश सभा सदस्यका लागि १८ जना उमेदवार चुनावी मैदानमा छन् । त्यस मध्ये दुईबटा गठवन्धनका उमेदवार सहित ६ जना राजनीतिक दलबाट र १२ जना स्वतन्त्र रुपमा उमेदवार भएका छन् ।

प्रदेश सभा सदस्यमा यस क्षेत्रबाट १८ जनाले उमेदवारी दर्ता गरेपनि सत्ता गठवन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका युवा नेता रहवर अंसारी, एमाले–जसपा गठबन्धनबाट नेकपा एमालेका नेता विचारी यादव, जसपाबाट विद्रोह गरेर स्वतन्त्र उमेदवार बनेका जन्नत अंसारी र नेपाली कांग्रेसबाट विद्रोह गरेका सुधिर पटेल मुख्यत चुनावी प्रतिस्पर्धामा छन ।

अन्य राजनीतिक दल र स्वतन्त्र रुपमा उठेका उमेदवारको वारेमा चुनावी मैदानमा खासै चर्चा सुनिदैन । ती राजनीतिक दलबाट उठेका उम्मेदवारहरुको प्रतिस्पर्धामा आउने खालको जनमत देखिदैन । स्वतन्त्र उमेदवार मध्ये केही निर्वाचनमा सावारी पास र मतदानको दिन एजेण्ड राख्नको लागि केही दलका उमेदवारले डमी उमेदवार उठाएको वताइएको छ ।

जनता समाजवादी पार्टीबाट टिकट नपाएपछि मनोनयनका दिनमा स्वतन्त्र उमेदवार बनेका जन्नत अन्सारी यसअघिको प्रदेशसभा निर्वाचनमा निर्वाचित भएका प्रदेशसभा सदस्य हुन । उनले नेपाली कांग्रेसका रामनारायण कुर्मीलाई पारजितगरी बिजयी भएका थिए । रामनारायण कुर्मी भने यसपटक पर्साको निर्वाचन क्षेत्र नं. १ को (ख)बाट उमेदवार भएका छन ।

अघिल्लो निर्वाचनमा तेश्रो नम्बरमा रहेका रहवर अंसारी यसपटक भने निर्वाचन जित्नेगरी हरेक जनताको घरदैलोमा पुग्ने गरेको बताउछन् । २०७४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा प्रदीप यादवसँग पराजित भएका विचारी यादव यसपटक तिनै प्रदीपलाई प्रतिनिधि सभा सदस्यका लागि भोट माग्दै आफूभने प्रदेश सभा सदस्य पदमा उमेदवार बनेका छन् ।

यसपटक मुस्लिम समुदायका दुई हस्ती रहवर र जन्नत अंसारीमा मत बाँडिने र अन्य समुदायको मत आफूलाई आउने आकलन गरेर चुनावी मैदानमा लागि परेका छन विचारी यादव । तर उनले सोचे जस्तो अन्य समुदायको मत उनीलाई मात्र आउने अवस्था छैन् । नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उमेदवार बनेका सुधिर पटेलले पनि केही आफ्नै समुदायको भोट पाउने आशा गरेका छन् । यसपटक जातिय समिकरणले मात्र चुनाव जित्ने अवस्थामा कुनै उमेदवार देखिदैनन् ।

संविधान सभाको दोश्रो निर्वाचनमा विजयी भएका विचारी यादवलाई पटक पटक निर्वाचन लडेको अनुभव छ । २०७४ को निर्वाचनमा वीरगञ्ज महानगरपालिको निर्वाचनमा मेयरमा पराजित भएका नेकपा माओवादी केन्द्रका युवा नेता रहवर अंसारीपनि गएको प्रदेश सभा निर्वाचनमा पराजीत भएका थिए ।

यस क्षेत्रमा प्रदेश सभा तर्फ ३९ हजार १६ मतदाता रहेका छन् । जसमा वीरगन्ज महानगरपालिकाको १० वटा वडा पर्दछन् । गत स्थानीय तहको निर्वाचनमा ४ वटा नेकपा एमाले, ४ वटा जनता समाजवादी पार्टी, एउटा लोसपा र एउटा वडा नेपाली कांग्रेसले वडा अध्यक्ष जितेका छन् । स्थानीय तहको मतको आधारमा एमाले–जसपा गठबन्धन बलियो देखिएपनि प्रदेशसभाको निर्वाचनमा मत बाडिने अवस्था देखिदै छ । यसपटक पार्टी भन्दापनि योग्य र जनसम्पर्क भएको उमेदवारलाई मत दिने पक्षमा मतदाता देखिन्छन ।

जसपा–एमाले गठबन्धन भनिएपनि पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार प्रदीप यादवले आफ्नै पार्टीबाट निवर्तमान प्रदेशसभा सदस्य जन्नत अंसारीलाई स्वतन्त्र रुपमा उमेदवार उठाएका छन् । जसपाका कार्यकर्ताले संघीयमा प्रदीप यादव र प्रदेशमा जन्नत अंसारीको लागि मत मागेर हिडिरहेका छन् । यस्तो अवस्थामा गठबन्धनका उमेदावर विचारी यादवले जसपाबाट मत पाउन सक्ने अवस्था देखिदैन । उनको ग्रामिण क्षेत्रमा वसेर राजनीति गरेको कारणले स्थानीय रुपमा जनमत राम्रो देखिएपनि मतको गणितले अप्ठारो पार्ने अवस्था सृजना भएको देखिन्छ ।

सत्ता गठबन्धनबाट उमेदवार बनेका रहवर अंसारीलाई गठबन्धनको राम्रो सहयोग र समर्थन रहेको देखिन्छ । तर गठबन्धनबाट विद्रोह गरेका सुधिर पटेलले कति मत काट्न सक्छन् भन्ने आकल अहिल्यनै गरिहाल्ने अवस्था छैन । घरदैलो कार्यक्रममा जनताको सहभागीता हेर्ने हो भने रहवर अंसारी सवै भन्दा बलिया उमेदवारको रुपमा चुनावी मैदानमा देखिन्छन् ।

जन्नत अंसारी प्रदेश सभामा यसअघि निर्वाचित भएका र विचारी यादव समेत संविधान सभासदस्यमा निर्वाचित भइसकेका उमेदवार हुन । दुवै जना संसदमा एक कार्यकाल पुरा भूमिका निर्वाह गरेका व्यक्ति हुन । तर नीति निर्माण गर्ने थलोमा पुग्न नसकेका रहवर असारीलाई भने जनताले कामको परिक्षण गर्नका लागि यसपटक उनलाई जिताउने पक्षमा वीरगञ्जका जनता देखिएको वीरगञ्ज १४ का वासिन्दा अनिल पटेलको भनाईछ । नयाँ सोच, विचर र नीति निर्माणको तहमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्ने उमेदवारको रुपमा अरु भन्दा सक्षम रहवर अंसारी देखिएकोले उनको पक्षमा जनमत बढदै गएको भनाई छ पटेलको ।

के भन्छन उमेदवारहरु ?

संसद भनेको कानुन र नीति निर्माण गर्ने थलो हो, तर जनताले घरदैलोमा पुगेका प्रतिनिधि र प्रदेश सभासदस्यका उमेदवारलाई स्थानीय सरकारले पुरा गर्नुपर्ने दायित्व भित्रको काम गरिदिनु पर्छ भन्ने गरेका छन् । खानेपानी, सडक, नाला, सरसफाई, शिक्षा र स्वास्थ्यका विषय सम्वोधन गर्ने मुख्य दायित्व स्थानीय सरकारको हो । तर जनताले भने नीति निर्माणमा आफ्ना कुरा के चाहिएको छ भन्दापनि दैनिकीसँग जोडिएका विषय मात्र उठाउने गरेको गुनासो उमेदवारहरुको छ ।

सत्तागठबन्धनको तर्फबाट उमेदवार बनेका रहवर अंसारीले जनताले उठाएका केही विषय स्थानीय सरकारसँग सरोकार राख्ने भएपनि आफूले स्थानीय सरकारसँग समन्वय गरेर जनताको समस्यालाई सम्वोधन गर्ने बताउछन् । यस क्षेत्रमा कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारको लागि काम गर्नुपर्ने देखिन्छ । केही विषय त ऐन कानुन निर्माणसँग जोडिएका विषय पनि छन त्यसमा आफूले काम गर्ने भनाई छ अंसारीको ।

संविधानले व्यवस्था गरेका अधिकार समेत नागरिकले पाउन सकेका छैनन् त्यसलाई प्रदेश सरकार मार्फत कार्यान्वयनमा लैजान मैले पहल गर्नेछु, रहवर अंसारीले भने “स्थानीय सरकार र संघीय सरकारसँग समन्वय गरेर भएपनि जनताले उठाएका विषयलाई सम्वोधन गर्नेछु ।

संविधान सभासदस्य विचारी यादवले आफू किसानको छोरा भएकोले जनताको विचमा बसेर काम गर्ने बताउछन् । संविधान सभा सदस्य हुदाँ मैले ल्याएका विकास निर्माणका केही अधुरा कामलाई पुरा गर्ने योजना छ, यादवले भने “८०÷९० करोडका योजना अलपत्र परेका छन ति योजना पुरा गर्नु मेरो प्रमुख दायित्व हो ।”
उनले वीरगञ्ज महानगरपालिका ग्रामिण क्षेत्रको दुरावस्था भएकोले नाला, सडक र खानेपानी निर्माण तर्फ पहल गर्ने बताए ।

अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टीबाट निर्वाचित जन्नत अंसारी यसपटक पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेदवार बनेका छन् । उनले गठबन्धनको कारण आफ्नो सिट एमालेलाई परेकोले स्वतन्त्र उठ्नु परेको बताए । स्वतन्त्र उठेपनि पार्टीका साथिहरुको सहयोग रहने विश्वास जन्नत अंसारीको छ । मैले गरेको विकास निर्माणको कामबाट जनता खुसी भएकोले यसपटक फेरी चुनावमा भाग लिएको छु, जन्नतले भने “पार्टीका सवै साथिहरुको भित्र सहयोग र साथ मलाई छ त्यही नै मेरो जित्ने आधार हो ।”

नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उमेदावर बनेका सुधिर पटेलले जनताको मुद्दा बोक्ने व्यक्ति भएकोले आफूले चुनाव जित्ने आधार त्यही भएको बताए । शिक्षा, स्वास्थ्य, सडक नाला लगायत जनतालाई आवश्यक परे सडकमा गएर टायर बाल्न पछि पर्दिन पटेलले भने, “नयाँ एजेण्डा होइन विगतमा कसले के गरयो भन्ने कुरामा मतदाता सचेत रहेका छन् ।”

पर्सा क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्यको निर्वाचनमा सवै उमेदवारले जनताको विचमा गर्छु भन्ने एजेण्डा एउटै भएपनि यसपटक मतदाताले भने नयाँ अनुहारलाई छान्न खोजेको देखिन्छ । यस क्षेत्रमा नेकपा माओवादीका रहवर अंसारी, एमालेका विचारी यादव विच प्रतिस्पर्धा हुने देखिन्छ । जसपाका प्रतिनिधि सभाका उमेदवार प्रदीप यादवले जन्नत अंसारीलाई समेत उमेदवार बनाएकोले जन्नत पनि प्रतिस्पर्धामा रहेका छन्


सम्बन्धित समाचार