Logo

२७ कार्तिक, वीरगञ्ज । अघिल्लो प्रतिनिधिसभा चुनावमा हार व्यहोरेका पर्सा क्षेत्र नं. ३ का राजकुमार गुप्ता यस पटक जसरी पनि चुनाव जित्ने तिकडमअनुसार चुनावी गठबन्धनलाई धोका दिने षड्यन्त्र बुनेका छन् ।

नेकपा एमाले र जसपा नेपालको तालमेलमा सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उठेका गुप्ता अहिले आफ्नो क्षेत्रमा जसपालाई लत्याएर विपक्षी नेकपा समाजवादी केन्द्रका उम्मेदवारसित साँठगाँठ गर्न पुगेको एमालैकै एक जिल्ला नेताले बताए ।

क्षेत्र नं. ३ को (ख) मा तालमेलमा एमालेसँग रहेको जसपाका प्रदेशसभा सदस्य उम्मेदवार मधु गुप्ता कुर्मीको विपक्षमा उनी अर्का प्रतिस्पर्धी नेकपा समाजवादीका प्रल्हाद गिरीसँग गोप्य सम्झौता गर्न पुगेका छन् ।

उनले पर्सा क्षेत्र नं. ३ (ख) मा एमालेको भोट गिरीलाई दिलाउने र गिरीले आफू निकट भोट सांसदमा एमालेलाई हाल्न लगाउने गोप्य सहमति भएको एमाले स्रोतले बताएको छ ।

गिरी यसअघिको चुनावमा मधेसवादी गठबन्धनमा तत्कालील संघीय समाजवादी फोरमबाट चुनाव जितेका व्यक्ति हुन् । यस पटक एमालेबाट विधायकमा आकांक्षी बनेका उनी सो क्षेत्रमा एमालेले जसपालाई समर्थन गरेपछि अन्तिम समयमा कलमबाट चुनाव लडेका हुन् ।

दुई विवादित पृष्ठभूमिका राजकुमार र प्रल्हादलाई मिलाउने मध्यस्थकर्ता बनेका छन्, बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी । लोकतान्त्रिक समाजवादी पार्टीबाट गत बैशाखमा अध्यक्ष जितेका तिवारी प्रल्हादका खास मानिस मान्छिन् । उनले नै राजकुमार र प्रल्हादलाई वीरगञ्जमा भेटाएर एमाले जसपा तालमेलविरुद्ध सेटिङ मिलाएको उनीनिकट एक स्थानीय नेताले बताए ।

प्रमोदले प्रल्हाद र लोसपाको भोट राजकुमारलाई दिलाउने जिम्मा लिएका छन् भने राजकुमारले एमालेको भोट प्रल्हादलाई दिएर जिताउने प्रतिवद्धता गरेका छन् । तर, आफ्नै गठबन्धनप्रति बेइमानी गरेका राजकुमार प्रल्हाद र प्रमोदको बचनमा विश्वस्त हुन नसकेपछि प्रमोदले आफ्नो छोरालाई नै एमालेमा प्रवेश गराउनु परेको छ । राजकुमारले आफूले भोट पाउने ग्यारेन्टीका लागि प्रमोद र प्रल्हादको सहमतिमा प्रमोदका छोरा निमेश तिवारीलाई एमाले प्रवेश गराएका छन् ।

अरुलाई उल्लु बनाएर आफ्नो दुनो सोझ्याउने तिकडमअन्तर्गत उनले नेपाल सुशासन पार्टी उम्मेदवारी दिएका गौरीशंकर साहलाई पनि सघाउने आश्वासन दिएको बुझिएको छ ।

आफ्नै एमाले र जसपाको चुनावी तालमेलप्रति धोकाधडीमा उत्रिएका राजकुमारको रवैयाप्रति जसपाका नेता कार्यकर्ता क्रुद्ध बनेका छन् । विगतमा विवादास्पद व्यापारबाट अकुत आर्जन गरेका उनी यस पटक पैसा, पावरलगायत सबै तिकडम र अनैतिक साँठगाँठ गरेरै भए पनि चुनाव जित्ने ध्याउन्नमा छन् ।
शुरुआतदेखि नै तालमेलविरुद्ध अभिव्यक्ति दिँदै आएका राजकुमारको यो हर्कतले पर्सा ३ मा एमाले जसपा गठबन्धनमा विश्वासको संकट उत्पन्न भएको जसपाका एक जिल्ला नेताले बताए ।

यसको लाभ अर्को प्रतिस्पर्धी नेपाली कांग्रेसलाई पुग्ने देखिएको छ । राजकुमारको प्रवृत्तिप्रति रुष्ट जसपा नेता कार्यकर्ताले राजकुमारको बलियो प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र चौधरीलाई सघाउने सम्भावना बढेर गएको छ । गठबन्धनबाट उमेदवार बनेकी प्रदेशसभा सदस्य मधु गुप्ता रौनीयारलाई हराउन खोज्दा राजकुमार गुप्ता नै अप्ठेरोमा परेका छन् । उनलाई हराउन अरु राजनीतिक दलका नेता कार्यकर्ता कांग्रेसका उमेदवार सुरेन्द्र चौधरीको पक्षमा लागेको देखिन्छ ।

अघिल्लो चुनावमा संघीय समाजवादी फोरमका हरिनारायण रौनियारसँग तेस्रो स्थानमा झरेर हार व्यहोरेका राजकुमारलाई अहिले चौधरी कडा टक्कर दिन आइपुगेका छन् । चौधरीको बढ्दो ग्राफ देखेर अत्तालिएका राजकुमार चौधरीको विरोधमा सार्वजनिक रुपमै गालीगलौज र आफ्नै गठबन्धनविरुद्धमा विपक्षीसँग अनैतिक साँठगाँठ गर्न पुगेका छन् । उनको यो चरित्रले पर्सा ३ मा नेकपा एमाले र जसपाको तालमेल नै बढारिने आँकलन गरिएको छ ।

राजकुमार आफ्नै चलाखीका कारण कमजोर बन्दै गएको विश्लेषण गर्न थालिएको छ । साझा उम्मेदवार भनिए पनि उनले जसपा नेता कार्यकर्ता र मतदाताको अपमानमात्रै गरेको बुझाई त्यो क्षेत्रका जानकारहरुको छ ।

चुनावी घरदैलोदेखि सभाहरुमा जसपालाई पूरै बाईपास गर्दै आएका उनले एमालेको सहकार्यमा जसपाबाट चुनावमा उत्रिएका उम्मेदवारलाई कटाक्षमात्रै गर्दै आएको देखिएको छ ।

यतिसम्म कि, उनले चुनाव प्रचारका लागि उनले बनाएका प्रचार सामग्री तुल ब्यानरमा समेत जसपासँगको साझेदारी कहिँकतै देखिँदैन । उनी जसपाको समेत उम्मेदवार भए पनि उनले ब्यानरमा एमाले अध्यक्ष केपी ओलीको मात्रै फोटो हालेका छन् ।

उनले जसपा अध्यक्ष उपेन्द्र यादवको फोटो र संगठनको नामसमेत बाइपास गरेका छन् । उनले जसपालाई स्थानीयदेखि केन्द्रीय तहसम्मकै अपमानित गरेको बुझाई जसपा नेता कार्यकर्ताको छ । पर्सा ३ मा एमालेको मात्र संगठन भएको र जसपा दृष्यमा नरहेको भन्दै कटाक्ष गर्ने राजकुमार अहिले हारको डरले अनैतिक साँठगाँठ गर्दै हिड्नु परेको छ ।


सम्बन्धित समाचार