Logo

२ मंसिर, वीरगंज । नक्कली मतपत्र र नगदसहित प्रहरीले वीरगञ्जको बसपार्क नजिकबाट दुईजनालाई गएराती पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी वलको सयुक्त टोलीले वीरगंजको बसपार्क सडकखण्डमा कलैयाबाट आइरहेको कारलाई चेकजाँच गर्दा नक्कली मतपत्र, नगद २ लाख ७२ हजार सहित दुईजनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी वल पर्साका प्रमुख प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

बाराको कलैयाबाट वीरगंज आएको बा. १०२५ च ६६३६ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा नगदसहित नमुना मतपत्र फेला परेको हो प्रहरी उपरिक्षक पोखरेलले बताए ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगर पालिका वडा नंं १८ का कार चालक बर्ष २३ का अमिरी राउत र सोही कारका मालिक वीरगंज महानगरपालिका वडा नं १६ इनर्वाका बर्ष ३३ का राजन सिंह रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

प्रहरी नायव उपरिक्षक गिरीका अनुसार उनीहरुको साथबाट १० हजार थान नक्कली मतपत्र, २ सय ५० थान स्वस्तिक छाप र ४८ थान स्टाप प्याड वरामद भएको छ । करिव ३ सय प्रति नक्कली मतपत्रमा साइकिल छापमा मत संकेत गरेको फेला परेको छ । उनीहरु कुन निर्वाचन क्षेत्रको लागि मतपत्र लिएर हिडेका हुन भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति र गाडी हाल वडा प्रहरी कार्यालय विर्तामा राखिएको छ । उनीहरुलाई आवश्यक कार्वाहीको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइने प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार