Logo

३ मंसिर, वीरगञ्ज । निर्वाचन आचार संहिता अनुगमन समितिले आचार संहित उल्लंघनका घटनामा चासो नदेखाएको कारण मौन अवधिमा मतदातालाई प्रभावित पार्न केही राजनीतिक दलका उमेदवार रातको समयमा मतदाताको घरदैलोमा पुगेको भिडियोहरु सार्वजनिक भएका छन् ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता विपरित भएका कामकार्वाहीलाई जिल्ला स्थित निर्वाचन कार्यालय र अनुगमन समितिले समेत नोटीसमा नलिएको कारण आचार संहिता उल्लंघनका घटना बढेका हुन ।

पर्सा निर्वाचन क्षेत्र नं. १ बाट जसपाको तर्फबाट प्रतिनिधि सभा सदस्यका उमेदवार प्रदीय यादव गएराती १० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ को नगवा स्थित एक घरबाट निस्केको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी आफ्ना अंगरक्षक सहित मतदाताको घरमा पुगेका थिए ।

सामाजिक सञ्जालमा आएको भिडियोमा सुरक्षागार्ड सहित प्रवेश गरेको देखिन्छ । घरको मुल गेटमा पुगेपछि सुरक्षागार्डलाई गेटमा राखेर उनी घरभित्र छिरेको देखिन्छ । केही समय पछि उनी घरबाट वाहिरिन्छन् । आयोगले तोकेको मौन अवधिमा मतदातालाई प्रभावित पार्ने उदेश्यले भएका घरदैलोलाई स्थानीय सुरक्षाकर्मी नियन्त्रण गर्न सकेको देखिदैन ।

यस सम्वन्धमा पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले सामाजिक सञ्जालमा आएको भिडियो आफूले हेरेको बताए । रातको समयमा मतदाताको घरमा पुगेका प्रदीप यादवले अंगरक्षकलाई समेत प्रयोग गरेको दखिन्छ । आयोगले आचार संहिता विपरित कार्य गर्ने उमेदवार र राजनीतिक दलका प्रतिनिधिलाई तत्काल कार्वाही गर्न अधिकार प्रत्यायोजन गरेको छ ।

यस घटनाको सम्वन्धमा आफूले कुनै कार्वाही गर्न नसक्ने प्रहरी उपरिक्षक बस्नेतले बताए । उनले यस बिषयमा जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतले नै कार्वाही गर्न सक्ने भएकोले उजुरीकर्ताहरुलाई उतै सम्पर्क राख्न भने बुझिएको छ ।

जिल्ला स्थित आचार संहिता अनुमगन समितिले उल्लंघनका घटनामा संलग्नलाई कार्वाहीको दायरामा ल्याउन नसक्दा पर्सामा निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न हुने कुरामा विश्वस्त हुन सक्ने अवस्था नरहेको विश्लेषकहरुको भनाई छ ।

निर्वाचन आयोगले तोकेको मौन अवधिमा कुनै पनि राजनीतिक दलका उमेदवारले प्रचारप्रसार गर्न नपाउने भनिएतापनि जिल्ला स्थित निर्वाचन अनुगमन समितिले प्रभावकारी अनुगमन गर्न नसक्दा आचारसंहिता उल्लंघनका घटना बढेको बताइएको छ । गएराती केही राजनीतिक दल र उनका कार्यकर्ता मतदातालाई प्रभावित बनाउन घरदैलोमा पुगेको तस्विरहरु सामाजिक सञ्जालमा देख्न पाइन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले मिडिया र सामाजिक सञ्जालमा आएका विषयलाई नोटीसमा राख्न नसकिने जनाएको छ । यो काम निर्वाचन आयोगको हो हामीले हेर्न सक्दैनौ, मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले भने “सामाजिक सञ्जालमा आएको विषयलाई आयोगको केन्द्रीय कार्यालयबाट अनुगमन भइरहेको छ ।” मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी परेका निवेदनलाई मात्र छानविन दायरामा ल्याइएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए ।


सम्बन्धित समाचार