Logo

तस्विर : मतगणना स्थलकाे फाइल तस्विर

३ मंसिर, वीरगञ्ज । भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि हुने मतगणनाका लागि पर्सामा मतगणना स्थल तयार भएको छ । ४ वटा प्रतिनीधि सभा र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पर्सामा २ ठाउँमा मतगणना गर्न लागिएको छ ।

पर्सा निर्वाचन क्षेत्र न. १ र २ को मतगणना वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा गर्नेगरि तयारी गरिएको छ भने क्षेत्र नं ३ र ४ को मतगणना पोखरिया नगरपालिका–४ मा रहेको जिल्ला उचाङ्गल रामदेव कलवार नमुना प्राविधिक विद्यालयमा हुनेछ ।

शुरुमा प्रत्यक्ष तर्फ प्रतिनीधि सभा र प्रदेश सभा सदस्यहरुको मत गणना गरिनेछ । तसर्थ हरेक क्षेत्रका लागि ३ वटा कोठा तयार पारेर मत गणना गर्नेगरि तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना गर्नका लागि ८ वटा कोठा तयार पारिएको छ । मतगणना स्थलमा तारजाली लगाउनुको साथै सीसीटीभी क्यामेरा समेत जडान गरिएको मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले जानकारी दिए ।

मतगणना स्थल तयार पार्नका लागि मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा शुक्रबारदेखि नै टोली खटिएको थियो । क्याम्पसको कक्षा कोठामा रहेको डेस्क बेञ्च हटाउने, सरसफाई गर्ने, सिसिटीभी क्यामेरा जडान गर्ने र तारजाली लगाउने कार्य मतगणना स्थलमा गरिएको छ ।

पर्सा क्षेत्र नं ३ र ४ को मतगणना हुने स्थल पोखरिया स्कुलमा पनि मतगणना स्थल तयारीको काम अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत योगनाथ ढकालले जानकारी दिए । पोखरियामा दुईवटा क्षेत्रको छुट्टाछुट्टै भवनमा मतगणना गर्न लागिएको छ । मतगणना स्थलको ९० प्रतिशत तयारी पुरा भएको निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत ढकालले बताए ।

यसैबीच बाराको चारवटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै चार ठाउँमा हुने भएको छ । क्षेत्र नम्बर–१ को मतगणना कोल्हबी स्थित नगरपालिकाको सभा हल र क्षेत्र नम्बर–२ को बरियारपुर स्थित गढीमाई महेन्द्र उच्चमाविमा हुने मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी गराए ।

क्षेत्र नम्बर–३ को मतगणना कलैया–३ गंगापुर स्थित शैक्षिक तालिम केन्द्र्मा र क्षेत्र नम्बर–४ को मतगणना सिमरा स्थित नेपाल राष्ट्रिय उच्चमाविमा हुने मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी गराएका छन । मतगणना स्थलमा सीसी क्यामरा जडान सहित सम्पुर्ण सुरक्षा प्रबन्ध मिलाईएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी गराए । मतदानपछि मतपेटिकाहरु संकलन गर्ने र उम्मेदवारहरुसंग छलफल गरेर सोही दिन देखि मतगणना शुरु गर्ने योजना रहेकोे मुख्य निर्वाचन अधिकृत उपाध्यायले वताए ।

त्यसैगरि चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने ठाउँमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटीभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । वि.स. २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएको थियो ।

जसका कारण पनि चितवनमा मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिने गरिएको छ । चितवन क्षेत्र नं १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ । त्यहाँ चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ । यस्तै क्षेत्र नं २ को मतगणना चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा गरिने अधिकृत थापाले जानकारी दिए । यस ठाउँमा सरसफाइ र तारजाली लगाउने काम भएको उनले बताए । क्षेत्र नं २ को चार ठाउँमा मतगणना गर्ने गरी तयारी गरिएको छ । यस्तै चितवन क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ ।


सम्बन्धित समाचार