Logo

जितपुर सीमरा उपमहानगरका वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ता : फाइल तस्विर

३ मंसिर, वीरगञ्ज । मौन अवधिमा निर्वाचन आचारसंहिता विपरित पैसा बाँडेको र चुनाव प्रचारप्रसारमा हिँडेको भन्दै जितपुरसिमरा उपमहानगरका २ जना वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जितपुर सीमरा उपमहानगरका वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ता र वडा नं ६ का वडाअध्यक्ष कैयमुदिन अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बहालवाला जनप्रतिनिधि भएर निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा मतदातालाई प्रभाव पार्न पैसा बाँडेको र चुनावी प्रचारप्रसारमा हिँडेको भन्दै वडाध्यक्षद्वय गुप्ता र अन्सारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरी नियन्त्रणमा लिएका दुवै वडाअध्यक्ष एमालेका हुन् । इलाका प्रहरी कार्यालय सिमराले उनीहरूलाई नियन्त्रणमा लिएलगत्तै एमाले कार्यकर्ताहरूले प्रहरी कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए । करिब १ घन्टापछि माफी मगाएर उनीहरूलाई छाडिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नं. ३२ बाट एक लाख नगदसहित स्वतन्त्र उमेदवार किशोरी प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई १ लाख नगदसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रचारप्रसार गर्न नपाउने भनेर स्थिर समय शुरु भइसकेपनि यही समयमा मतदाता रिझाउन रकम बाँड्दै गरेको अवस्थामा उनी पक्राउ परेको पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।

 


सम्बन्धित समाचार