Logo

वीरगञ्जको नगवा मतदान केन्द्रमा बिहान ७ बजे देखि मतदान शुरु भएको छ तस्विर : विशाल पटेल

४ मंसिर, वीरगञ्ज। आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ ।

प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २ हजार ४ सय १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १ हजार ५ सय ४५ दलका र ८ सय ६७ स्वतन्त्र उम्मेदवार रहेका छन् । यस्तै, प्रदेश सभाका लागि ३ हजार २ सय २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये २ हजार १ सय ३० जना दलका र १ हजार ९४ स्वतन्त्र उम्मेदवार रहेका छन् ।

यसपटक देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ जना महिला र १ सय ८५ जना अन्य गरी एक करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता रहेका छन् ।

चुनावका लागि देशभर १० हजार ८ सय ९२ वटा मतदानस्थलमा २२ हजार २ सय २७ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागार र वृद्धाश्रमहरुमा गरी १ सय ४१ वटा अस्थायी मतदानस्थल तोकिएको छ । चुनावमा २ लाख ४६ हजार ९ सय ६० जना कर्मचारी खटिएका छन् ।

निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएकोले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले अपिल गरेको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६ सय ९३, सशस्त्र प्रहरी बलका ३५ हजार १ सय १६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै चुनावका लागि नै भर्ना भएका १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटिएका छन् ।


सम्बन्धित समाचार