Logo

पर्सा निर्वाचन क्षेत्र नं. १ (क)बाट नेकपा माओवादी केन्द्रका उमेदवार रहबर अंसारी विजयी भएका छन् । उनले ७ हजार ८१७ मत प्राप्त गरी विजयी भएका हुन । उनलाई पाँचदलिय गठबन्धनको सहयोग र समर्थन रहेको थियो । नेकपा माओवादीको तर्फबाट मधेस प्रदेशमा निर्वाचित हुने उनी पहिलो उमेदवार हुन ।

एमाले जसपा गठबन्धनबाट उमेदवार बनेका नेकपा एमालेका विचारी यादवले ५ हजार ५१९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जन्नत अंसारीले ५ हजार २८६ मत र अर्का स्वतन्त्र उमेदवार सुधिर पटेलले ४ हजार ४५ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा कुल कुल २८ हजार २७३ मत खसेको थियो ।

प्रदेशसभा सदस्य विजयी रहवर अंसारीले २०७४ को स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा नेकपा माओवादी पार्टीको तर्फबाट प्रमुखमा प्रतिस्पर्धा गरेका थिए । उनले २०७४ को प्रदेशसभा सदस्य पदमा समेत पर्सा निर्वाचन क्षेत्र नं. १(क)बाट प्रतिस्पर्धा गरेका थिए ।

२०७४ को प्रदेशसभा निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन संघिय समाजवादी फोरमबाट जन्नत अंसारी ८ हजार ५९३ मत ल्याएर विजयी भएका थिए । नेपाली कांग्रेसका रामनारायण कुर्मीले ७ हजार १७१ मत प्राप्तगरी दोश्रो र नेकपा माओवादी केन्द्रका रहवर अंसारीले ६ हजार ७९४ मत प्राप्तगरी तेश्रो भएका थिए ।

यसपटक जसपा एमाले गठबन्धनका कारण जन्नत अंसारीले टिकट नपाएपछि स्वतन्त्र उमेदवारको रुपमा मैदानमा थिए । उनलाई जसपाका प्रतिनिधिसभा सदस्यका उमेदवार प्रदीप यादवको भित्री सहयोग र समर्थन रहेको थियो ।

को हुन रहवर अंसारी ?
२०४३ साल बैशाख १५ गते काठमाडौंमा जन्मिएका ३१ बर्षीय मुस्लिम समुदायका युवा रहबर अन्सारी वीरगन्जस्थित गण्डक अस्पतालका निर्देशक समेत रहेका उनले आफ्नो व्यवसायलाई सेवाको रुपमा स्थापित गरे ।

माओवादी आन्दोलनको बैचारिक धार मन पर्न थालेपछि उनी १२ बर्षअघि माओवादी पार्टीमा औपचारिक रुपमा संगठित भएका थिए । अन्सारीका बुवा ए.ई. अन्सारी सरकारी डाक्टर थिए । अन्सारी बुवाको सरुवा जताजता भयो त्यतै त्यतै गएर आफ्नो अध्ययनलाई निरन्तरता दिए ।

काठमाडौंको ग्यालेक्सी स्कुलबाट एसएलसी पास गरेपछि उनी पढ्न भारतको नयाँ दिल्ली गए । दिल्लीबाट कमर्समा प्लस टु सकेका उनले भारतको पुनाबाट बिबिएको पढाइ सके । स्नातक तहको अध्ययन पूरा गरी नेपाल फर्केर भरतपुरको मेडिकल कलेजमा काम गरेको डेढ वर्षपछि उनले आफैले गण्डक अस्पताल सुरु गरे ।

हंगेरीको बुडापेष्टमा रहेको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नाकोत्तर गरे । अन्सारी मुलुकमा स्वास्थ्य सेवालाई विशुद्ध धन कमाउने माध्यम मात्रै बनाईयो, निमुखा गरिबहरुको सुबिधा सम्पन्न अस्पतालमा पहुँच भएन, उनीहरुले अकालमै मृत्युबरण गर्नुपर्ने बाध्यता देखेपछि उनीहरुको जीवनमा केही सेवा गर्ने ध्येयले अस्पताल गण्डक अस्पताल संचालनमा ल्याए । अन्सारी स्वास्थ्य सेवा क्षेत्रसँगै वीरगन्ज रोटरीलगायत विभिन्न संघसंस्थासँग पनि आवद्ध छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले वीरगन्ज महानगरपालिकाको मेयरमा ३६ वर्षे मुस्लिम युवा रहबर अन्सारीलाई उम्मेदवार बनाएको थियो । उनी माओवादीको पर्सा जिल्ला कमिटीका सदस्य र माओवादी आवद्ध मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य, वीरगन्ज महानगर अध्यक्ष र इन्चार्ज हुदै अहिले केन्द्रीय सदस्य रहेका छन् ।


सम्बन्धित समाचार