Logo

८ मंसिर, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य पदमा पर्सा निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उमेदवार रहेका अजय द्विवेदीले अबको राजनीति “मुद्दामा हुने कि मुद्रामा” भन्ने विषय जनताको विचमा बहस चलाउनु पर्ने धारणा सार्वजनिक गरेका छन् ।

द्विवेदीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई निर्वाचनमा सहयोग गर्ने र मतदान गर्नुहुने मतदातालाई धन्यवाद दिएका छन् । उनले अबको राजनीति जनताको मुद्दा भन्दापनि मुद्रामा केन्द्रित हुन पुगेकोले संसदीय राजनीति दुषित हुदैजाने खतरा बढेको प्रति चिन्ता जाहेर गरेका छन ।

संसदीय राजनीतिमा उमेदवारले जनताको विचमा लैजानुपर्ने एजेण्डा र मुद्दाको विषयमा प्रवेश नै नगरी पैसाको बलमा मात्र चुनाव जित्नु पर्ने अवस्थाले राजनीतिक क्षेत्रमा ल्याएको विकृती अन्त्यका लागि निर्वाचन प्रणाली नै सुधार गर्न अहिले नै बहस चलाउनु पर्ने द्विवेदीको भनाई छ । पैसाको बलमा चुनाव लडनु पर्ने परिस्थिती अन्त्य गर्न पनि विद्यमान निर्वाचन प्रणालीमा सुधारको खाँचो रहेको द्विवेदीको बताएका छन् ।

नेपाली कांग्रेसका संस्थापक स्वर्गीय विपि कोइरालाको विचारलाई स्मरण गर्दै “राजनीतिमा गलत प्रवृत्ति हावी भए विद्रोह गर्नु, असल मान्छे बन्नु” भन्ने भनाईलाई आत्मसाथ गर्दै आफूले स्वतन्त्र उमेदवारी दिएर जनताका विचमा जाने निर्णय गरेको द्विवेदीले भनेका छन् ।

उनले दलिय राजनीतिमा स्वतन्त्र उमेदवार बनेर मतदाताको विचमा जादा जनताबाट आफूले पाएको उत्साह, स्नेह र प्रेम प्रति नतमस्तक रहेको बताएका छन् । उनले आफूलाई जोखिम मोलेर सहयोग गर्ने नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु, फरक फरक विचार पेशा, व्यवसाय र उमेर समूहका आमजनताले दिएको समर्थन र सहयोग प्रति सदैव आभारी रहने छु, द्विवेदीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले निर्वाचनले दिएको मतादेशलाई स्वीकार गर्दै पर्सा निर्वाचन क्षेत्र नं. १ बाट विजयी भएका प्रदीप यादवलाई बधाई दिएका छन् ।

नेपाली कांग्रेस पर्साको डेढ दशक जिल्ला सभापति भएका द्विवेदीलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेदवारी दिएका थिए । उनी जसपाका उमेदवार प्रदीप यादवसँग एक हजार ६२० मतको अन्तरले पराजित भएका थिए । जसपाका उमेदवार यादवले २२ हजार ५३७ मत प्राप्त गर्दा उनले २० हजार ९१७ मत पाएका थिए ।


सम्बन्धित समाचार